गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।
स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अनिल शाह ०७९ असोज २० गतेदेखि अध्ययन विदामा रहेपछि स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको हो । चिकित्सकविहीन रहेको पर्वतको कुश्मा नगरपालिका– १२ को ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको दुई वर्षदेखि एक्सरे मेसिन समेत प्रयोग विहीन छ । स्वास्थ्य चौकीमा डाक्टर नहुने र भएका स्वास्थ्य उपकरण पनि प्रयोगविहीन भएपछि स्वास्थ्य सेवा लिनेलाई सास्ती भएको छ ।
विगतमा दैनिकजसो ४० देखि ५० जना व्यक्तिसम्म स्वास्थ्य सेवा लिंदै आएकोमा यतिखेर चिकित्सक नहुँदा सख्ंया घटेर १५ देखि २० जनामा झरेको छ । स्वास्थ्य चौकीमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी अनमी भिमकुमारी शर्माले भन्नुभयो, ‘डाक्टर छैनन् भनेपछि सर्वसाधारणमा स्वास्थ्य संस्थाप्रति विश्वास कम हुने रहेछ । एकातिर डाक्टर नहुने अर्कोतिर भएका स्वास्थ्य उपकरण समेत बन्द हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।’ स्वास्थ्य चौकीमा कार्यरत अनमी देवीकुमारी शर्माले भिडियो एक्स–रे चलाउन जान्ने व्यक्ति नहुँदा सबैभन्दा बढी गर्भवती स्वास्थ्य सेवा प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिडियो एक्स–रे मेसिन हामीसँग छ, तर चलाउन जान्ने दक्ष व्यक्ति छैनन् । चलाउन जान्ने स्टाफनर्स सरुवा भएर जानुभयो । अरूलाई आउँदैन । छिटोभन्दा छिटो तालिम दिन सकेमा गर्भवती महिलाहरु परीक्षणका लागि टाढा धाउनु पर्ने थिएन ।’
गत आर्थिक वर्ष ०७९÷०८० मा सुत्केरी स्वास्थ्य सेवा ४० जनाले लिएका थिए भने अहिले साउनदेखि यता भने भिडियो एक्स–रे सेवाको अभावका कारण जम्मा ५ जनाले मात्रै सेवा लिएको स्वास्थ्यकर्मीको भनाई छ । निमित्त प्रमुख शर्माका अनुसार स्वास्थ्य चौकीमा एक जना डाक्टर र एक स्टाफ नर्ससहित नौ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि जम्मा ६ जना मात्रै कार्यरत छन् ।
ठूलीपोखरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि थापाठाना, आर्थर, कार्कीनेटा, शंकरपोखरी, स्याङ्जाको अर्जुनचौपारीदेखि बिरामी आउने गर्दछन् । डाक्टर र स्वास्थ्य उपकरण नहुँदा सामान्य स्वास्थ्य उपचार सेवाका लागि समेत जिल्ला अस्पताल र पोखरातिर धाउन पर्ने बाध्यता आइपरेको छ ।