नेपाल पत्रकार महासंघ बागलुङका सचिव जैमिनी नगरपालिका– ७ बोरका ३४ वर्षीय विजय रानामाथि ०८० पुस १४ गते राती प्रहरीले कुटपिट गरेको छ । प्रहरीको कुटपिटबाट रानाको हात र खुट्टामा चोट लागेको छ ।
उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको सातौँ बागलुङ महोत्सवमा प्रहरीले नागरिकमाथी कुटपिट गरेको भिडियो र फोटो खिच्ने क्रममा रानामाथी प्रहरीले आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले दोषीलाई कारबाहीको माग गरेको छ ।
महासंघले रानामाथि ज्यादती गर्ने प्रहरीमाथि कारबाही र उहाँको निःशुल्क उपचार गर्न माग गरेको छ । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै लेखिएको देशमा यस्तो घटना हुनु निन्दनीय बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संगठनहरुले आग्रहसमेत गरेको छ ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले जिल्लामा फर्किए लगत्तै छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाएर दोषिलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
