INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रम सुरू, मतदाता नामावली प्रकाशन

कोशी प्रदेशका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले पुस २० गते मतदाताको नामावली प्रकाशन गरी ०८० माघ ११ गते हुने कोशी प्रदेशसभा सदस्य निर्वाचनको कार्यक्रम सुरूआत गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले ०८० पुस २० गते मतदाताको नामावली प्रकाशन गरी माघ ११ गते हुने निर्वाचन कार्यक्रमको सुरूआत गरेको हो ।

निर्वाचन कार्यक्रम अनुसार पुस २० गते ४ वजे सम्म दाबीविरोधका लागि उजुरी तथा (प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने समेत) कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनु भयो । सूचना अधिकारीले पुस २१ र २२ गते उजुरीमाथि छानवीन गरी अन्तिम नामावली प्रकाशनका कार्यक्रम रहेको बताउनु भयो ।

अन्तिम नामावली पुस २२ गते दिउँसो ३ देखि ४ वजे सम्ममा प्रकाशन गरिने छ । पुस २३ गते विहान १० वजेदेखि ३ वजेसम्म उम्मेदवारको मनोनय दर्ता र सोही दिन उम्मेदवारको सूची प्रकाशनको कार्यक्रम रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २६ गते दिउँसो ३ देखि ४ वजे भित्रमा उम्मेवारको नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन ३ देखि ४ वजे भित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते विहान ९ वजेदेखि ३ वजे सम्म मतदानको कार्यक्रम रहेको छ ।

कोशी प्रदेशमा दुई ओटा पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भयो ।

निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ७४ गरी ३ सय ६७ जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख सुवेदीले बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल ०८० फागुन २० गते सकिदैछ ।

photo 20230102 morang

अन्य

भिडियो