INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय पुस १६ गते स्थापना गरिएको छ ।

राष्ट्रियसभा सदस्यका लागि ०८० माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले कार्यालयको शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने बताउनु भयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल गरिने निर्वाचन अधिकृत ढुङ्गेलको भनाइ छ ।

कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ जनाले मतदान गर्ने छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २ हजार १ सय २०, काँग्रेसको १ हजार ५ सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको ३ सय १८, एकीकृत समाजवादीको २ सय १२ र जसपाको ५३ मतभार छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १ सय ३७ ओटा स्थानीय तहका २ सय ७४ मध्ये एमालेका १ सय १०, काँग्रेसका १ सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।

स्थानीय तहमा एमालेको २ हजार ९०, काँग्रेसको २ हजार १ सय ८५, माओवादीको ५ सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १ सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २ सय १०, नेपाली कांग्रेसको ३ हजार ७ सय २२ र माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।

एकीकृत समाजवादीको ३ सय ४५, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

photo 20230102 morang

अन्य

भिडियो