INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकुमारी घटनामा मानव अधिकार आयोगद्वारा अनुगमन सुरु

राष्ट्रिय मानव अधिकार आयोगले दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अनुगमन सुरु गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० पुस १३ गते विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा अनुगमन गर्नका लागि आयोगको टोली घटनास्थलमा पुगेर तथ्य सङ्कलन गर्न सुरु गरिसकेको उल्लेख गर्नुभएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरू बिच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ ।’

विज्ञप्तिमार्फत आयोगले प्रदर्शनकै क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको, आगजनी गरिएको गाडीमा सवार सबै जना सकुसल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको भन्ने जानकारी समेत प्राप्त भएको समेत बताएको छ ।

अन्य

भिडियो