१७ वर्षीया बालिकालाई ०८० पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुर्माखाँद गाउँपालिका–५ का २२ वर्षीय सर्प बि.कलाई पुस ९ गते गिरफ्तार गरेको छ ।
तुर्माखाँद बजारबाट घर गइरहेकी बालिकालाई आरोपित विकले यौन दुर्व्यवहार गरेको जानकारी ढिलोगरी प्राप्त भएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर राजेन्द्र साउदले बताउनु भयो ।
पीडित पक्षले अहिलेसम्म उजुरी नदिएको र पुस ११ गते उजुरी दिन आउने जानकारी प्राप्त भएको इन्स्पेक्टर साउदले बताउनु भयो ।
घटना गाउँमै मिलाउनु पर्छ भनेर जनप्रतिनिधि, आरोपित पक्ष र गाउँलेहरुले आर्थिक प्रलोभनमा पारेर दबाव दिएका कारण प्रहरीमा उजुरी दिन नसकिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटना मिलाउन खोज्दा बालिकाले आत्महत्याको प्रयास गरेपछि घटना सार्वजनिक भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ९ गते जिल्ला अस्पताल, अछाममा गरी महिला पुनस्र्थापना केन्द्रमा राखिएको इन्स्पेक्टर साउदले बताउनु भयो ।