INSEC Online

📅 २०८३ जेष्ठ २२

अझैसम्म न्यायको पर्खाइमा छन् द्वन्द्वका विस्थापित परिवार

सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर विस्थापित भएकी जुगल गाउँपालिका-१, सेलाङ्ग की ४९ वर्षीया बिमला सिल्वाल न्याय नपाउन्जेल गाउँ नफर्कीने भन्दै तीन जनाको परिवार लिएर सदरमुकाम चौतारा बस्दै आउनुभएको छ ।

तत्कालीन विद्रोहीले चन्दा माग गर्दा दिन नसकेपछि बिमलाको पति पूर्णबहादुर सिल्वाल सहित चार जनाको परिवार ०५९ जेठ २५ गते गाउँबाट विस्थापित भएर सदरमुकाम चौतारा बस्दै आउनुभएको थियो ।

घर गृहस्ती गरेर जसोतसो परिवार पालेर गाउँमै बसेका पूर्ण सिल्वालको परिवारलाई माओवादीले गाउँ निकाला गरेपछि ज्यान जोगाउन उनीहरूको चारजनाको परिवार त्यतिखेर सदरमुकाम पुगेका हुन् ।

सङ्कटकालको समय, दोहोरो बन्दुकको मारमा पिल्सिनु परेको त्यस समयमा विस्थापित जीवन कष्टपूर्ण रूपले बिताउनु परेको बिमला बताउनुहुन्छ । चन्दा नदिएको आरोपमा माओवादीले घर गाउँबाट निकाला गरेपछि बालबालिकाको लालनपालन र पठनपाठनमा निकै कष्ट भएको बिमला त्यतिखेरको दुःखको अनुभव सुनाउनुहुन्छ ।

तत्कालीन विद्रोही माओवादी कार्यकर्ताको पटक पटकको धम्कीका कारण मानसिक बिरामी परेका पूर्णबहादुर सिल्वालको ०६२ साउनमा मृत्यु भएपछि बिमला बेसाहारा बन्नुभयो ।

पतिको मृत्युको बियोग । विस्थापित जीवन, छोराछोरीको जिम्मेवारी, कोठा भाडा, आदी । यस्तै पिरलोले बिमला पनि त्यतिखेर बिछिप्त बन्न पुगेको दुःखको अनुभूति बिमलासँग ताजै छ ।

अहिले देशमा शान्ति आएको छ । तत्कालीन विद्रोही पक्ष अहिले सरकारमा छ । द्वन्द्वपीडितलाई राहत दिन विभिन्न समयका सरकारले विभिन्न अभियान सञ्चालन गरेपनि बिमलाको परिवारले अहिले सम्म कुनै राहत, सुबिधा केही नपाएको उहाँको गुनासो छ । आफूले न्याए नपाएसम्म गाउँमा बाँझो जग्गा जोत्न आफू गाउँ नफर्कने इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बिमला सिल्वालले बताउनु भयो ।

अन्य

भिडियो