सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ ।
द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्नु परेकोमा ति मध्ये १६ जनामा मानसिक समस्या देखिएको थियो । उहाँहरुले हालसम्म पनि नियमित औषधि सेवन गर्नु परेको पीडितहरुले बताउनुभएको छ ।
द्वन्द्वकालिन यातना पीडित समाज तनहुँका अध्यक्ष विष्णुप्रसाद भट्टराईले १६ जना यातना पीडितहरुले नियमित रुपमा मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताउनु भयो । राज्यपक्षबाट गम्भिर यातना भोग्नु भएका भट्टराईले आफुले हालसम्म नियमित रुपमा औषधि सेवन गर्नु परिरहेको बताउनु भयो ।
मानसिक समस्या रहेका यातना पीडितहरुको सहयोगको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको मनोविमर्श केन्द्रमा पीडितहरु गएर उपचार र औषधिको सिफारिस लिएपछि औषधि निशुल्क पाइने भट्टराईले बताउनु भयो । तनहुँका सबै १६ जनाले उक्त मनोविमर्श केन्द्रबाट नियमित सेवा र औषधि लिइरहेको भट्टराईले जानकारी दिनु भयो ।
अर्की यातना पीडित व्यास नगरपालिका– ६ की कमला मालले आफूले द्वन्द्वकालमा राज्यपक्षबाट चरम यातना पाएको भन्दै त्यसैको असर स्वरुप हालसम्म नियमित रुपमा शारीरिक र मानसिक समस्याको औषधि सेवन गरिरहनु परेको बताउनु भयो । यातनाको कारण आफ्नो शरिर छियाछिया भएको भन्दै उहाँले नियमति औषधि सेवन नगर्ने हो भने केही काम गर्न नै नसक्ने बताउनु भयो ।
शान्ति प्रक्रिया सुरु भएको करिब १८ वर्ष भईसक्दा पनि अझैसम्म द्वन्द्वकालका यातना पीडितहरुले न्याय नपाएको भन्दै उहाँले नियमित औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई राज्यले नियमित रुपमा आर्थिक सहायता गर्नु पर्ने बताउनु भयो । सत्य निरुपणसम्बन्धी कानुन बन्ने हो भने आफुहरुले पनि न्याय पाउने उहाँको विश्वास छ । उहाँले द्वन्द्वकालमा आफ्नो पति समेत गुमाउनु भएको छ ।
तनहुँमा संगठित भएका यातना पीडितहरुले जिल्लाभर १० ओटा स्वावलम्बन समूह गठन गरेका छन् । उक्त १० ओटा समुहमा ९० जना यातना पीडितहरु सदस्य छन् । उक्त छुट्टाछुट्टै समूहका सदस्यहरु आय आर्जनका काममा पनि संलग्न भएको अध्यक्ष भट्टराईले बताउनु भयो ।