बुबा र आमा गुमाएर बिचल्लीमा परेका रामेछापको मन्थली नगरपालिका-६ का दुई बालकको पठनपाठनका जिम्मा सामुदायिक विद्यालयले लिएको छ ।
उनीहरूलाई १२ कक्षासम्म आवास र खाना सहितको अध्यापन गर्ने जिम्मा रामेछापको सुनापति गाउँपालिका-४, बेथानमा रहेको डहु माविले लिएको हो । एक वर्षको बिचमा बुबा र आमा गुमाएपछि बालकहरू बिचल्लीमा परेका थिए । ‘बुबा र आमा गुमाएका बालकहरूलाई बाँच्नै सङ्कट, पढाइ पनि छुट्ने अवस्था’ शीर्षकमा इन्सेक अनलाइनमा ०८० कात्तिक १ गते फिचर प्रकाशन भएको थियो भने बालकहरूलाई इन्सेकले कात्तिक ३ गते आर्थिक सहयोग गरेको थियो । सोही प्रकाशित समाचारबाट आफूहरू प्रभावित भइ सहयोगको लागि तयार भएको डहु माविका प्रधानाध्यापक दलबहादुर बल तामाङले जानकारी दिनुभयो । उहाँले सहयोगको लागि सहजिकरण गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।
उनीहरूलाई विद्यालयकै होस्टलमा राखेर कक्षा १२ सम्म खाना, बस्न, स्टेसनरी, पोसाक सहित पढ्नको लागि सम्पूर्ण व्यवस्था मिलाइने डहु माविका प्रधानाध्यापक दलबहादुर बल तामाङले जानकारी दिनुभयो । सो विद्यालयमा प्राविधिक धार तर्फ कम्प्युटर इञ्जिनियरिङको कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।
डहु मावि उत्कृष्ट सामुदायिक विद्यालय हो । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पटक पटक ४ जीपीए सहित एसईई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्दै आएको प्रधानाध्यापक तामाङले बताउनु भयो ।
बालकहरूलाई विद्यालयले इन्सेकका जिल्ला प्रतिनिधि र मन्थली नगरपालिका-६ का समाजसेवी शङ्कर थापालाई संरक्षक राखेर ०८० मङ्सिर २९ गते विद्यालयको होस्टलमा राखेको छ । उनीहरूको पढाई क्षमताको स्तर हेरी कक्षा निर्धारण गरिने प्रधानाध्यापक बलले जानकारी दिनुभयो ।
बुबा र आमा गुमाएपछि भक्तबहादुर बसेल र गीता बसेलका चार भाइ छोरा १८ वर्षका लेखबहादुर बसेल, १६ वर्षका सञ्जीव बसेल, ११ वर्षका सरोज बसेल र आठ वर्षका सन्दीप बसेल बाबु आमाको निधनपछि बिचल्लीमा पर्नुभएको थियो । चार भाइ मध्ये लेखबहादुर र सञ्जीवले बिचमा नै पढाई छाडिसक्नु भएको छ । सरोज पाँच र सन्दीप तीन कक्षमा पढ्दै आउनुभएको थियो । पढ्दै गरेको दुई भाइलाई डहु माविले पढाउने जिम्मा लिएको हो ।
