महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक जना मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।
जलेश्वर नगरपालिका-९ प्रकौलीँका ५५ वर्षीय रामेश्वर चौधरीको दाहसंस्कार उनका छोराहरूले आँगनमै गरेका हुन् ।
गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बावुको शवलाई आँगन मै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए ।
बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेपछि रामेश्वरको शव आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए । बाढीको त्रास फैलिएका बेला हृदयाघातबाट उनको मृत्यु घरैमा भएको थियो ।