कुश्मा नगरपालिका– ६ मा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षकद्वारा विद्यार्थीमाथि मङ्सिर २४ गते कुटपिट भएको घटनामा पीडित विद्यार्थीका परिवार र विद्यालय बिच मङ्सिर २८ गते कानुन विपरित मिलापत्र भएको छ ।
विद्यालयका प्रधानध्यापक इन्द्रमान खत्रीले इन्सेकलाई दिएको जानकारी अनुसार विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने र कुटिएका १३ वर्षीय स्वर्णिम केसीको पढाईमा समेत प्रोत्साहन स्वरुप सहयोग गर्ने गरी मिलापत्र भएको हो ।
कक्षा ७ मा अध्ययनरत १३ वर्षीय बालकलाई विद्यालयका शिक्षक सञ्जन पौडेलले कक्षामा चुइगम खाएको आरोपमा मङ्सिर २४ गते कुटपिट गरेर घाइते भएपछि पोखरा ल्याई उपचार गरेर घर फर्काएको बालकको परिवारले बताउनुभयो ।
विद्यालयले कमजोरी स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्यउने र शिक्षकलाई समेत सचेत बनाउने प्रतिवद्धता जनाएपछि आफूहरुले मिलापत्र गरेको पीडित बालकका ठुलोबुवा महेन्द्र केसीले जानकारी दिनुभयो । बालक अहिले उपचार पश्चात् डाक्टरको निगरानीमा घरबाट विद्यालय आउने जाने गरेको उहाँले बताउनुभयो ।
जिल्ला स्तरीय नागरिक सञ्जालका अध्यक्ष माधव पौडेलले विद्यार्थीमाथि भएको आक्रमण घटनाको विरोध गर्र्दै आपसी समझदारीमा मिलाउन नहुने जिकिर व्यक्त गर्नुभयो । पौडेलले यस्ता प्रकारका घटनाहरु आपसी समझदारीमा मेलमिलाप गर्दै जाने हो भने भोलि अन्य थप समस्या निम्तिन सक्ने खतरा बढेको बताउनुभयो ।
नेपालको कानुन बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७ को उप दफा ९ अनुसार बालबालिका सम्बन्धि कुनै पनि कसुरमा मेलमिलाप गर्न नहुने कानूनी व्यबस्था रहेको छ । तर पनि विद्यालयलयहरुमा दिइने दण्ड सजायमा अझैपनि कानुन विपरित मिलापत्र गराइएको पाइन्छ ।