गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयद्वारा साउन ३० गते जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र २ हजार ८ सय ४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको राससले जनाएको छ । देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ७ सय २७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट पीडितहरुको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७ सय भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएका छन् ।
नेपाली सेनाका सात र निजी क्षेत्रका ६ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोटलगायतका साधनहरु खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।