INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन घरेलु हिंसा पीडितद्वारा इन्सेकसमक्ष आग्रह

आफ्नै पतिबाट पटक पटक हिंसा व्यहोर्दै आउनुभएकी चौतारा सागाचोकगढी नगरपालिका-१२ की ४० वर्षीया सीता श्रेष्ठले ०८० मङ्सिर २० गते न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गनुभएको छ ।

पीडित सीता श्रेष्ठले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधि लिखित रूपले आग्रह गर्नुभएको हो । पति रामकुमार श्रेष्ठले पटक पटक सारिरिक रुपले कुटपिट गरी घरबाट निकाल्ने, परपुरुषको विभिन्न आरोप लगाएर बेवास्ता गर्दै आउनुभएको पीडित सीता श्रेष्ठको भनाई छ ।

आफुलाई पतिले विभिन्न समयमा हिंसा गरेपछि वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पटक पटक न्यायका लागि निवेदन दिएको थिए । तर दुवै ठाउँबाट मिलापत्र गरी पठाएका थिए । मिलापत्रमा तीन जना छोराछोरीलाई पढाइ खर्च, खाना खानको लागि घर खर्च, चाडवाडमा लाग्ने खर्च सबै दिन्छु भनेकोमा हालसम्म भेटघाट समेत नगरी बेवास्ता गरेको र मिलापत्रमा उल्लेख भएका कुराहरू हालसम्म कार्यान्वयन नभएको सीताले दिनुभएको अनुरोध पत्रमा उल्लेख छ ।

विवाहमा दाइजो नल्याएको आरोप लगाउँदै यसभन्दा अघि पनि पतिले पटक पटक यातना दिएका थिए । पतिको यातनाबाट आफू उमेरमै रोगी भएको समेत पीडित सीता श्रेष्ठको भनाई छ । पटक पटकको घरेलु हिंसामा पर्नुभएकी सीताको दुई छोरा र एक छोरी भएको उहाँ बताउनुहुन्छ । छोरा छोरीको पढाई खर्च, लालनपालन खर्चको समस्या त छँदैछ, न्यायका लागि विभिन्न कार्यालयमा आवत जावत गर्न समेत आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।

घरेलु हिंसा पीडित सीता श्रेष्ठको आग्रहपछि इन्सेक प्रतिनिधिले पीडितलाई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याई न्याय दिलाउन जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणासँग निवेदन दर्ता गरिएको छ ।

अन्य

भिडियो