मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरुलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । गाउँपालिकामा रहेका बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न कठिनाई भएको गुनासोपछि गाउँपालिकाले ०८० मङ्सिर १७ गतेदेखि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
यसअघि इन्सेक अनलाइमा सामाजिक सुरक्षा भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई सास्ती शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
गाउँपालिकाले हरेक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिह धामीले जानकारी दिनु भयो ।
गाउँपालिकास्थित माछापुच्छ्रे बैंकसँगको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता रकम वडा नम्बर १ बाट वितरण सुरु गरेको छ ।
ज्येष्ठ नागरिकलाई गाउँपालिकासम्म पुग्नु पर्ने बाध्यता हटाउन वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । गाउँमै सामाजिक सुरक्षा भत्ता पुग्दा बृद्धबृद्धाले खुसी व्यक्त गर्नुभएको छ ।
सामाजिक सुरक्षा भत्ता लिनै सकस् हुने गरेको थियो, मालिकार्जुन गाउँपालिका–१ का अर्जुनसिह धामीले भन्नु भयो, वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सहज भयो । विगतमा सामाजिक सुरक्षा भत्ता लिन गाडी चढेर गाउँपालिका पुग्नु पर्यो ।
वडामै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेपछि आफूलाई सरकारको अनुभूति भएको स्थानीय रेवतीदेवी धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय सरकार भएपछि हामीले सामाजिक सुरक्षा भत्ता लिन सास्ती भोगेका थियौँ । गाडी नपाए पैदल हिड्नु पर्यो । बैंकमा घण्टौँ लाइनमा बस्न बाध्य थिएउ । वडामै आएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएपछि सहज भएको छ ।’
मालिकार्जुन गाउँपालिकाभरी ज्येष्ठ नागरिक भत्ता पाउने सङ्ख्या १ हजार २ सय ५६ जना रहेको छ । यसैगरी ज्येष्ठ नागरिक दलित भत्ता पाउने सङ्ख्या १ सय ३७, ज्येष्ठ नागरिक एकल महिला सङ्ख्या १ सय १४ र विधुवा सङ्ख्या २ सय ११ जना रहेका छन् । यसैगरी क बर्गका अपाङ्गता भएका ५८ जना, ख बर्गका ७७ जना, दलित बालबालिका २ सय ६४ जना र लोपन्मुख जातिका सात जनाले गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने गरेको पञ्जीकरण शाखाले जनाएको छ ।