INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित नभएको गुनासो

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ देखि विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदैँ आइएको छ ।

“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता” भन्ने नाराका साथ ०८० मङ्सिर १७ गते अर्थात् डिसेम्वरमा ३ मा यो दिवस नेपालसहित विश्वभर मनाइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षाका लागि नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ जारी गरी लागू गरेको छ ।

सो ऐनले “शारिरीक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन असशक्तता, कार्यगत सिमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका सम्झनुपर्छ” भनि परिभाषित गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसारमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको कूल जनसङ्ख्या ६ लाख ५४ हजार ७ सय ८२ छ ।

कोशी प्रदेशमा ६३ हजार ३ सय ५९ जना पुरूष र ५४ हजार १ सय ४ जना महिला गरी अपाङ्गता भएका व्यक्तिहरूको जनसङ्ख्या १ लाख १७ हजार ४ सय ६३ छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तराष्ट्रिय दिवसमा अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गतामैत्री संरचना र वातावरण नहुँदा सास्ती पाएको गुनासो गरेका छन् ।

पाँचथर प्रतिनिधि इवारा जवेगुका अनुसार अस्पताल, विद्यालयलगायतका अन्य सेवा प्रदायक निकायहरूमा अपाङ्गमैत्री संरचना र वातावरण नहुँदा सास्ती खेप्नु परेको अपाङ्गता भएका व्यक्तिहरुले  गुनासो गरेका छन् ।

विभिन्न सेवा लिने क्रममा अपाङ्गता भएकाहरूलाई छुटको व्यवस्था भए पनि झण्झटिलो हुँदा ती सेवा उपभोग गर्नबाट धेरै जना विमुख हुनु परेको फिदिम नगरपालिकाका अपाङ्गता भएका व्यक्ति चुडामणि बाँस्कोटाले बताउनु भयो ।

सामाजिक सुरक्षा भत्ताकै लोभले अपाङ्ग परिचयपत्रको दुरूपयोग भइरहेको फिदिम नगरपालिकाकाी अपाङ्गता हुनु भएकी सम्झना तामाङको भनाइ छ ।

पाँचथर सदरमुकाम फिदिममा ०८० मङ्सिर १७ गते आयोजित ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित अपाङ्गताको वर्तमान अवस्था, चुनौति र भावी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका हुन् ।

अपाङ्ग सेवा सङ्घ पाँचथर, नेपाल पत्रकार महासङ्घ पाँचथर र गैरसरकारी संस्था महासङ्घ पाँचथरको सहकार्यमा आयोजित अन्त्ररक्रियामा करूणा फाउडेण्शनका प्रमुख केदार भण्डारीले पाँचथरमा अपाङ्गता भएकाहरूको वर्तमान अवस्था, चुनौति र भावी बाटोबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

याङवरक गाउँपालिकाबाहेक सात ओटा स्थानीय तहमा ३ हजार ६ जना अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या करुणा फाउडेशनको तथ्याङकले देखाएको छ ।

जसमध्ये शारिरीक अपाङ्गता भएका १ हजार ४ सय ७१ जना, दृष्टिसम्बन्धी अपाङ्गता भएका १ सय ८८ जना, सुनाइसम्बन्धी अपाङ्गता भएका ५ सय ३७ जना, श्रवण तथा दृष्टिविहीन सम्बन्धी अपाङ्गता भएका ११ जना, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका १ सय ४७ जना, वौद्धिक अपाङ्गता भएका १ सय ७९ जना, मानसिक तथा मनोसामाजिक समस्या भएका १ सय ९७ जना, अटिजम भएका ९८ जना, हेमोफिलिया एक जना र बहुअपाङ्गता भएका २ सय १७ जना गरी ३ हजार ६ जना छन् ।

जिल्लामा नेपाल सरकारले वितरण गर्ने अपाङ्गता परिचयपत्र ४ सय ६५ जनाले रातो, १ हजार २ सय ३२ जनाले निलो, ७ सय ६८ जनाले पहेंलो र ३ सय ८१ जनाले सेतो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्लामा १ सय ६१ जनाले अपाङ्गता परिचयत्रपत्र पाउन बाँकी रहेको एउटा सरकारी तथ्याङ्कले देखाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले अपाङ्गता भएकाहरूको सहजताका लागि नगरपालिका गम्भीर रहेको बताउनु भयो ।

अपाङ्गता भएकाहरूको स्वास्थ्योपचारका लागि घरदेखि अस्पताल र अस्पालदेखि घरसम्म यातायातको व्यवस्था लगायतका अन्य कार्यक्रमहरू नगरपालिकासँग रहेको नगर प्रमुख काफ्लेले बताउनु भयो ।

जिल्लास्थित अपाङ्गता भएका व्यक्तिहरू, राजनीतिक दल तथा सरोकारवाला निकाय र सङघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामकुमार आङ्बोलगायतले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका सवालमा धारणा राख्नु भएको थियो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार भौतिक संरचना र सार्वजनिक सवारीसाधन अपाङ्गमैत्री नभएको ओखलढुङ्गाका अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक सवारीसाधनमा आरक्षण सिट, ५० प्रतिशत भाडामा छुट र अपाङ्गमैत्री व्यवहार पाउन नसकेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्य गोपालमान थापाले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएकाहरूले भाडामा ५० प्रतिशत छुट पाउन नसकेको बताउनुभयो ।

इन्सेक प्रतिनिधिसँगको कुराकानीमा उहाँले स्थानीय तह र सरोकारवाला निकायले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री तथा मानवमैत्री निर्माण गर्ने कुरामा ध्यान नदिएको बताउनु भयो ।

अपाङ्गमैत्री भौतिक संरचना बनाउँदा अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र नभएर ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी र अशक्तहरूलाई पनि सहज हुने भएकोले आगामी दिनमा सरोकारवालाले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । अपाङ्गता भएका व्यक्तिका पक्षमा नीति नियम राम्रो बनेपनि कार्यान्वयन फितलो भएको उहाँले बताउनु भयो ।

जिल्लाका प्रायजसो कार्यालयहरू अपाङ्गमैत्री नरहेकोले भवन निर्माणसँगै उनीहरूको हकअधिकारको क्षेत्रमा पनि स्थानीय सरकारले जोड दिनुपर्ने करूणा फाउण्डेशनका सिद्धिचरण नगरपालिकाका संयोजक राम बानियाले बताउनु भयो ।

जिल्लाको सिद्धिचरण नगरपालिकाका उप प्रमुख केदारबाबु बस्नेतले आगामी दिनमा नगरपालिकाले अपाङ्गमैत्री संरचना निर्माणमा जोड दिने बताउनु भयो ।

नगरपालिकाको नवनिर्मित भवन अपाङ्गमैत्री नभएको भन्नेबारे आएका गुनासोलाई मध्यनजर गर्दै बनिसकेको उक्त भवनलाई नै अपाङ्गमैत्री बनाउने कुरामा प्रयास भइरहेको उहाँले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको सहजता, वृद्धि, विकास, जीविकोपार्जन  र प्रोत्साहनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी छ ।

Photo 202301203 Morang

अन्य

भिडियो