INSEC Online

📅 २०८३ जेष्ठ २१

ढोरपाटनमा निर्माणाधिन अस्पताल भवन अलपत्र अवस्थामा

ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का करिब पाँच हजार स्थानीयसँगै ढोरपाटन घुम्न आउँने पर्यटकलाई लक्षित गरि निर्माण सुरु गरिएको ढोरपाटन अस्पताल निर्माणको काम अलपत्र परेको छ ।

ढोरपाटन उपत्यकामा १५ महिना अगाडि निर्माण थालिएको १५ शैय्याको अस्पताल भवन निर्माणको काम हालसम्म ४० प्रतिशत मात्र सकिएको छ ।

२०८२ असार २३ भित्र निर्माण सम्पन्न गर्ने गरि एसी क्न्ट्क्सनसँग १२ करोड ९६ लाखको ठेक्का सम्झौता गरिएको भएपनि समयमा भुक्तानी नभएको भन्दै निर्माण कम्पनीले भवन निर्माणको काम रोकेको हो ।

कामदार लगाउँदा र निर्माण सामग्री खरिद गर्दा करोडौँ खर्च भइसकेकोले भदौ महिनामै नगरपालिकामा भुक्तानीका लागि बिल बुझाएको भएपनि नगरपालिकाले रकम उपलब्ध गराउन नसकेपछि अस्पताल भवन निर्माणको काम रोक्नु परेको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताउनुभयो ।

भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो र अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदैले बताउनुहुन्छ । काम गरे पनि कामदारलाई पारिश्रमिक दिनसमेत बजेट नभएपछि निर्माणको काम रोक्नु परेको उहाँको भनाई छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा भुक्तानी गराउन नसकेको बताउनुभयो । निर्माण कम्पनीले बारम्बार रकम माग गरि राखेको भन्दै आफूले केन्द्रमा बजेट पठाउन आग्रह गरेको बताउनुभयो । भुक्तानी छिट्टै व्यवस्थापन गर्ने भनि निर्माण कम्पनीलाई निरन्तर काम गर्न अनुरोध गरेको उपप्रमुख कायतले बताउनुहुन्छ ।

नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर सामान्य सेवा प्रवाह गरेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ ।

हिउँदको समयमा स्थानीयहरु अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने छ ।

nagar aspatal

अन्य

भिडियो