मानव अधिकार हनन्सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगमा परेका पुराना उजुरीहरूको अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय जनकपुरको टोली साउन २१ गते राजविराज आएको छ ।
आयोगका मानव अधिकार अधिकृतहरू चिरञ्जिवी कोइराला र दीपकुमार यादवसहितको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल अस्पताल र पीडित राजविराज नपा-४ स्थित लक्ष्मीदेवी दासको घर पुगी पुराना उजुरीहरू र मानव अधिकारको अवस्थाबारे जानकारी लिएका छन् ।
टोलीले एसपी मुकेशकुमार सिंह, अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेण्ट डा. टेकनारायण मण्डलसँग भेटघाट गर्नुका साथै द्वन्द्वकालमा भएका विभिन्न घटना र अनुसन्धानको विवरण, घटनास्थल प्रकृति मुचुल्का, पोष्टमार्टम प्रतिवेदन, पीडित परिवारले राहत पाए/नपाएको सम्बन्धमा आवश्यक जानकारीका साथै सोबारे कागजात उपलब्ध गराउन भनेको छ ।