INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर १९ मा पुनः मतदान सकियो, पहिलेको भन्दा २२ भोट कम खस्यो

अविरल झरीको कुनै प्रवाह नगरी भरतपुर १९ वडाका स्थानीयले मतदान गरेका छन् । पुनः भएको मतदानमा २ हजार ८ सय ७५ मत खसेको भनी प्रारम्भीक जानकारी आएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । आज सम्पन्न मतदानमा ७५ प्रतिशतभन्दा बढी मत खसेको भए पनि अघिल्लो पटकको भन्दा २२ भोट कम खसेको छ । यसअघि वैशाख ३१ गते भएको मतदानमा २ हजार ८ सय ९७ मत खसेको थियो । यस वडामा ३ हजार ७ सय ९७ मतदाता रहेकोमा किरण मावि, किरणगञ्ज रानीपोखरी मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जनगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा बखानपुरमा एक हजार २ सय ४३ मतदाता रहेका थिए ।

Photo20170804Chitwan2

अघिल्लो निर्वाचनको गणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको विषयमा सर्वोच्च अदालतले साउन १५ गते निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज मतदान भएको हो । भरतपुरको मेयरका लागि नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली चुनावी मैदानमा छन् । भरतपुरको २९ वटा वडा मध्ये २७ वटाको परिणाम आइसकेको छ ।

२७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) तथा नेपाली काङ्ग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९४ मत प्राप्त गरेकी छन् । महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत पनि गणना गर्न बाँकी रहेको छ ।

Photo20170804Chitwan

चुनाव शान्तिपूर्ण

तीन वटा मतकेन्द्र रहेको वडा नम्बर १९ मा शुक्रबारको चुनाव निकै शान्तिपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ८ सयको संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । दिउँसो एक पटक नेपाली सेनाको हेलिकप्टरले मतदान स्थल अवलोकन गरेको थियो ।

Photo20170804Chitwan1

पहिले धान अनि मतदान

वर्षाको समय भएकाले त्यस वडाका बासिन्दाहरू धेरै जसो खेतमा धान रोप्न व्यस्त देखिन्थे । स्थानीय अन्जना गुरुङले मतदान भन्दा रोपाइ महत्वपूर्ण भएको भन्दै धान रोपेर मात्र मतदानमा सहभागि हुने प्रतिक्रिया दिइन् । उनी जस्ता थुप्रै स्थानीय खेतमा धान रोप्ने, विरुवा काड्ने, हिल्याउने, खन्ने, सम्याउने काममा व्यस्त देखिन्थे । मतदाताहरू खेतबारीमा व्यस्त रहनाले पनि दिनभर जसो नै चाप खुकुलो हुँदा मतदाताले धेरै समय लाइनमा वस्नु परेको थिएन ।

अपाङ्गता भएका र बिरामी पनि

शुक्रबार भएको मतदानमा सहभागि हुनका लागि विरामी र अपाङगता भएकाहरू पनि आए । उनीहरूले आफन्तको सहारामा मत दिएका थिए । शारीरिक अपाङ्गता भएकी ३३ वर्षीय कलादेवी अधिकारीले पहिलोपटक दिएको भोट काम नलागेको पुन दोस्रो पटक दिन लागेको बताइन् । अस्पतालबाट ३ दिन अघि मात्रै डिस्चार्ज भएका ६६ वर्षीय गोपीलाल गुरुङ र हृवीलचियरकै सहारामा ८२ वर्षीया शिलमाया तामाङले पनि आफ्नो अमूल्य मत दिइन् ।

मतगणना अब सिसि टिभीको निगरानीमा

मतगणना स्थल भरतपुरमा रहेको कवर्डहलमा निगरानीका लागि चार वटा सिसि टिभी जडान गरिएको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताए । उनको अनुसार यसपटक दलका प्रतिनिधिहरूलाई तारको घेरामा राखिने छ । जसका कारण मतगणनाको क्रममा मतपत्रमा क्षति नहुने बताइएको छ । यसअघि वैशाख ३१ को निर्वाचनमा कडा सुरक्षा नहुँदा मतपत्र त्यातिएको थियो ।

मतगणना स्थलमा राखीएको जाली
मतगणना स्थलमा राखीएको जाली

फेरी पनि यस्तो घटना नदोहोरियोस् भनेर यसपटक विशेष निगरानीमा राखिएको सहायक निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । अब वडा नं.१९ को मतदान सकिएपछि वडा नं.२० को पनि संगै गणना गरि भरतपुरको जनप्रतिनिधि टुङ्गो लाग्ने छ ।

अन्य

भिडियो