INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः नातिनीहरूले आमाबुबा चिन्न समेत पाएनन्

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकी बुहारी दुर्गा विसुङ्के बेपत्ता हुँदा दुई  र चार वर्षीया नातिनीहरूले स्नातक अध्ययन पुरा गरिसक्नुभएको छ । सुरक्षाकर्मीद्वारा आफ्नो बुहारी दुर्गालाई बेपत्ता पारेको तथा छोरा रामगोपाल विसुङ्केलाई पार्टीको निर्देशन नमानेको भन्दै माओवादी कार्यकर्ताले नै गोली हानि हत्या गरेको आज २२ वर्ष भइसकेको छ ।

सूर्यविनायक नगरपालिका-५ स्थित आफ्नै घरमा इन्सेककर्मी पुग्दा ज्येष्ठ नागरिक हजुरआमा भन्नु हुन्छ- “नातिनीहरूले आमाबुबालाई राम्ररी चिन्न पनि पाएनन् ।” माया ममता पाउने त टाढाकै कुरा भयो । छोरा बुहारी नै गुमाएर नातिनीहरूको लालनपालन गरेर हुर्काउनु भएकी एकल महिला ७० वर्षीया हजुरआमा सीता विसुङ्के त्यो बेलाको नातिनीहरू हुर्काउँदा पाउनु भएको पीडा र घटना स्मरण गर्न समेत सक्ने अवस्थामा हुनुहुन्न ।

बेपत्ता परिवारलाई सरकारले दिएको राहत रकमबाट दुखसुख गरेर नातिनीहरू हुर्काउने पढाउने गरे पनि बस्ने घर बाहेकको अर्को आर्थिक स्रोत नहुँदाको पीडाले अझै उहाँको मन पोल्छ । मुटु र सुगरको रोगले च्यापेको छ उहाँलाई । नियमित औषधि खानु पर्छ भन्दै एक गैर सरकारी संस्थामा काम सुरु गर्नुभएकी नानिनी अफिस नै नगई गङ्गालाल अस्पतालबाट अहिले औषधि लिएर आउनुभएकी हुनुहुन्छ भन्दै नातिनीसँग थप कुरा गर्ने उहाँसँग बेपत्ता परिवारको अवस्था बुझ्न गएका इन्सेककर्मीलाई भन्नुभयो ।

आफू र बहिनी सानै हुँदा बुबाको हत्या र आमा बेपत्ता भएको मैले त घटना भएको चार/पाँच वर्षपछि मात्र थाहा पाएको हुँ । अरूका आमाबुबा देख्दा आफूलाई पनि आमाबुबाको याद आउँथ्यो जेठी नातिनी पुजाले परिचयसँगै बताउनु भयो । अझ आमा त बेपत्ता भएकोले आज भोलि आउनु हुन्छ भन्दै धेरै वर्ष बिते । यतिका वर्षमा राजनीतिक परिवर्तन धेरै भई सक्यो । तर आमाको अवस्था पत्ता नलाग्दा अब त सम्झनु भन्दा नसम्झेकै राम्रो लाग्न थाल्यो । खै के पो हुने रहेछ । आँफै दुखि हुनु बाहेक । पीडितको छोरी पुजा विसुङ्केले आफ्नो पीडा बताउनु भयो ।

तत्कालीन कटुन्जे गाविस-७ की २४ वर्षीया दुर्गा विसुङ्केलाई ०६० पुस २ गते काठमाडौँको सुन्धाराबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता बनाएको थियो । पीडितको अवस्था बारे हालसम्म कुनै थप जानकारी प्राप्त हुन सकेको छैन । तत्कालीन समयमा राज्य पक्षले बेपत्ता पारेको तर आमाको अवस्था के हो भन्ने यथार्थ जानकारी नहुँदा अन्यौलमै रहेको बेपत्ता पारिएकी दुर्गा विसुङ्क्की छोरी पुजाले बताउनु भयो । आमाको पुरानो फोटो हेरेर यस्तो हुनुहुँदो रहेछ भन्ने अनुमान मात्र हो चिन्न सक्ने अवस्था नहुँदै आमा बेपत्ता भएको उहाँले स्मरण गर्नु भयो ।

आफ्नी आमाको अवस्था थाहा पाउने आशा भए पनि अब दिन फर्केर घर आउने वा राज्यले के भएको हो थाहा दिने आशा अब नरहेको पुजाको गुनासो छ । तर मानव अधिकारकै लागि काम गरेको र पुरानो अभिलेख पनि इन्सेकसँग भएको साथै न्यायका लागि पहल गर्न पुन घरसम्मै आउनु भएकोले केही आशा पलाएको पुजाले इन्सेकसँगको छलफलमा बताउनु भयो ।

आमाको खोजिका लागि इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग लगायतमा आफन्तले खोजिका लागि पहल र निवेदन दिएको थाहा पाए पनि आजसम्म केही पत्ता नलागेको र बेपत्ता आयोगले बेपत्ता परिवार भनेर परिचय पत्र भने उपलब्ध गराएको छ । बेपत्ता परिवार मात्र हैन सशस्त्र द्वन्द्वमा बुबासम्म गुमाएको परिवार भए पनि दिदी बहिनीले नै पढ्नको लागि छात्रवृति समेत पाउन सक्नु भएन । एमबीबीएस पढ्नलाई फारम भर्न जाँदा नीजि विद्यालयमा अध्ययन गरेको भनेर फारम समेत बुझाउन नपाएको तितो अनुभव पुजाले सुनाउनु भयो ।

आर्थिक अवस्था नहुँदा उहाँले सोही कारण दिदी बहिनी एमबीबीएस छाडेर पब्लिक हेल्थ पढ्नु परेको तर पढाइ पुरा भए पनि सरकारी कोटा द्वन्द्वपीडितलाई छ भन्ने सुने पनि जागिरमा अवसर नपाएको बताउनु भयो ।

अन्य

भिडियो