INSEC Online

📅 २०८३ जेष्ठ २२

दलित आन्दोलनका अगुवा रामको निधन

सिनो बहिष्कार र भूमिहीन हरुवाचरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको साउन १७ गते बिहान निधन भएको छ ।

photo20170801saptari

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई साउन १५ गते घर फर्किएका रामको स्वास्थ्य अवस्था साउन १७ गते बिहान एकाएक बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै बिहान ६ बजे निधन भएको उनका छोरा गणेश रामले बताए । रामका पत्नी, दुई छोरी र दुई छोरा छन् ।

सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरूले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाई गरेका रामले तराईका जिल्लामा सिनो फाल्नु पर्ने कुरितीजन्य प्रथाको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित सङ्गम मधुपट्टि र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरीय भूमिसुधार आयोग-२०६५ को सदस्य समेत रहेका थिए ।

भारतको दिल्लीमा २०६३ सालमा डाक्टर अम्बेडकर पुरस्कार पाएका रामलाई पछिल्लो पटक राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकोत्सवको अवसरमा ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ प्रदान गरेको थियो ।

त्यस्तै ०७३ साउन १६ गते २४ औँ प्रकाश स्मृति दिवसको अवसरमा वैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट राम सम्मानित भएका थिए । राष्ट्रिय मानव अधिकार आयोगबाट २०५८ सालमा र राष्ट्रिय दलित आयोगको १३ औँ वार्षिकोत्सवको अवसरमा २०७१ सालमा सम्मानित रामले २०६१ मा टिकाराम मानव मर्यादा पुरस्कार, २०६२ मा जनउत्थान राष्ट्रिय पुरस्कार र समाज कल्याण परिषदद्वारा २०६९ मा सामाजिक सेवा पुरस्कार प्राप्त गरेका थिए ।

अन्य

भिडियो