दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितले तीन वर्षदेखि पुनर्स्थापना, पुनर्निर्माण र प्रबलीकरणबाफतको रकम नपाउँदा समस्या भोग्नु परेको छ । २०७८ सालमा आएको बाढीपहिरोबाट विस्थापित भएकाहरुले हालसम्म पुनर्निर्माण, पुनर्स्थापना र प्रबलीकरणबाफत रकम नपाएका हुन् ।
दुहुँ गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ मा बाढीपहिरोले क्षति गरेको थियो । दुहुँ गाउँपालिका विपद् व्यवस्थापन शाखाका अनुसार पुनर्निर्माणमा २ सय ८६, पुनर्स्थापना १४ परिवार तथा प्रबलीकरणमा १ सय २५ परिवार परेका थिए । बाढीपहिरोबाट पीडित हुनुभएका ४ सय २५ परिवारसँग पुनर्निर्माण, पुनर्स्थापना, प्रबलीकरण कार्यक्रम अन्तर्गत सम्झौता भएको थियो । चालू आर्थिक वर्षसम्म पुनर्निर्माण अन्तर्गतका २ सय ४५ जनाले मात्रै काम सुरु गरेका छन् ।
गत असारमा आएको बाढीपहिरोबाट वडा नम्बर २ का २८ परिवार विस्थापित भएका थिए । यो क्षेत्रमा जमिन भासिने र पहिरो जाने क्रम नरोकिएको कारण स्थानीय समस्यामा परेका लोकेन्द्रबहादुर बमले भन्नु भयो, ‘पहिरोले पुरै बस्ती नै जोखिममा परेको छ । खेती, घर सबै पहिरोको उच्च जोखिममा पुगेपछि अफरे गाउँको बस्ती नै उठिबास हुने अवस्थामा छ ।’
पहिरोका कारण बस्तीमाथि रहेको पानीका मुलहरु भासिएका छन् । पानी जमिनभित्र छिरेपछि अफरेबस्ती जोखिममा परेको जनकराज भट्टले बताउनु भयो ।
दुहुँ गाउँपालिका–२ का जयराम पार्कीले पहिरोका कारण गाउँमा बस्न नसकिने अवस्था रहेकोले आफूहरुको बस्ती नै स्थानन्तरण गर्नु पर्ने बताउनु भयो । केहीले ऋण निकालेर घर निर्माण गरेका छन् । तर, सरकारले घर निर्माणको लागि दिने भनेको ५ लाख रुपियाँ नपाउँदा समस्यामा परेको उहाँको भनाइ छ ।
दुहुँ गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले पुनर्स्थापनाका कारण अफरेका स्थानीयबासी ओडार र त्रिपालमूनि कष्टपूर्ण जिवन बाँच्न बाध्य भएकाले उहाँहरुको उचित पुनर्स्थापना गरिनु पर्ने बताउनु भयो ।
पुनर्स्थापनाबाफतको रकम स्थानीयले अझै पाउनु भएको छैन् । केही परिवारले मात्रै पहिलो किस्ताबाफतको रकम पाएका छन् । पैसा नहुँदा स्थानीयले आफैले घर बनाउन सकेका छैनन् । सरकारले दुहुँ र नौगाड गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भए पनि अहिलेसम्म घोषणाबाफत पीडितहरुले थप सुविधा पाउन नसकेको दुहुँ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवबहादुर बम बताउनु हुन्छ ।
दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बाढीपहिरो पीडितले पाउनु पर्ने रकम पठाउन संघीय सरकारलाई पटकपटक ताकेता गर्दा पनि गाउँपालिकामा रकम नआएका कारण पीडित परिवारलाइ रकम उपलब्ध गराउन नसकिएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘हामीले दिने रकम पीडित परिवारलाई उपलब्ध गराएका छौँ । संघीय सरकारले पठाउनु पर्ने रकम नपठाउँदा समस्या भएको हो ।’
प्रमुख जिल्ला अधिकारी किरण जोशीले प्रशासनमार्फत आएको रकम सम्बन्धीत स्थानीय तहमा पठाइसकेको र थप बजेट आवश्यक भएको खण्डमा पहल गर्ने बताउनु भयो ।
आवश्यक कागजात पुगेका पीडितहरुलाई राहत रकम भुक्तानी गरिएको र भुक्तानी पाउन बाँकी रहेका पीडित परिवारलाई राहत रकम उपलब्ध गराउन पहल गर्ने उहाँले बताउनु भयो ।