नवलपुरको हुप्सेकोट गाउँपालिकामा काँक्रा खेती गर्दै आएका किसान न्यूनतम समर्थन मूल्य तोक्न माग गर्दै आन्दोलित भएका छन् ।
हुप्सेकोट– १ मा काँक्रा खेती गर्दै आएका किसानले बिचौलियाले आफूहरूलाई भाउ नदिएको भन्दै आन्दोलित भएका हुन् । कात्तिक २२ गते उनीहरूले हुप्सेकोट १ जुकेपानीमा विरोध जनाउँदै हरेक तीन–तीन दिनमा काँक्राको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने माग समेत गरेका छन् । बिचौलियाका कारण आफूहरू मारमा परेको किसानहरूको गुनासो छ । बिचौलियाले आफूहरूलाई भाउ नै नदिई काँक्रा लगेर कालिमाटीमा महँगो मूल्यमा बेच्ने गरेको आरोप समेत किसानहरूले लगाएका छन् ।
दिनरात दुःखले खेती लगाउने किसान तर किसानले काँक्राको मूल्य आफैँ निर्धारण गर्न नपाउने , बिचौलियाले खर्च समेत नउठ्ने मूल्य दिदा आफूहरू धेरै नै मारमा परेको भरत राना मगरले बताउनुभयो । उहाँले किसानले खर्च उठाउनका लागि २० देखि ३० रुपियाँ मूल्य पाउनुपर्ने समेत बताउनुभयो । कात्तिक १२ गते प्रतिकिलो ४२ रुपियाँमा बेचेको काँक्रको मूल्य दिनदिनै घटेर अहिले १० रुपियाँमा झरेको उहाँले बताउनुभयो ।
यसैगरी अर्का किसान टेक बहादुर फाल मगरले , पनि बिचौलियाले अहिले दिएको मूल्यले लगानी पनि नउठ्ने बताउनुभयो । बिचौलियाले किसानलाई सुरुमै निश्चित मूल्य नदिने गरेको उहाँले बताउनुभयो । बारीबाटै काँक्रा सोझै उठाएर कालीमाटीमा लगेर महङ्गो मूल्यमा बेच्ने तर किसानलाई आधा मूल्य पनि नदिने गरेको उहाँको गुनासो छ । ‘कालीमाटीमा दैनिक रुपमा तरकारीको मूल्य तोकेको हुन्छ । ५० रुपियाँ किलोमा बेचे हामीलाई २० वा २५ रुपियाँ किलोको हिसाबले पैसा दिन्छन् । ’ मगरले भन्नुभयो ।
किसानलाई कर्मा नपर्ने गरि मूल्य निर्धारण गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफूहरू आन्दोलित हुनु परेको उहाँले बताउनुभयो । हरेक तीन–तीन दिनमा काँक्राको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने र न्यूनतम मूल्य नदिने ठेकेदारलाई काँक्रा बिक्री नगर्ने अडान लिएको उहाँको भनाई छ ।
पछिल्लो तीन दिनका लागि प्रतिकिलो २५ रुपियाँ न्यूनतम समर्थन मूल्य कायम गरिनु पर्ने माग गर्दै किसानहरूले वडा अध्यक्ष प्रेम घर्तीलाई ध्यानाकर्षण समेत गराएका छन् । यदि ठेकेदारहरूले उक्त मूल्य दिन नमाने काँक्रा नै नटिप्ने बरु बारीमै कुहिएर जान दिने निर्णय गरेको किसान वीरसिंह गाह मगरले जानकारी दिनुभयो ।
हुप्सेकोट – १ मा मात्र झण्डै १ हजार कृषकले ९० बिगाहा क्षेत्रफलमा काँक्रा खेती गर्दै आएका छन् । यहाँबाट दैनिक ५० हजार किलो काँक्रा कालीमाटी बजारमा जाने गरेको मगरले जानकारी दिनुभयो ।
वडा अध्यक्ष प्रेम घर्तीले किसानको मागलाई आफूले गम्भिर रुपमा लिएको बताउनुभयो । किसानका समस्यालाई गाउँपालिकामा समेत राखेको र दुवै पक्षलाई छलफल गराई समस्या समाधानका लागि पहल गरिने बताउनुभएको छ ।
