INSEC Online

📅 २०८३ जेष्ठ २१

काँक्रा खेती गर्ने किसान न्यूनतम समर्थन मूल्य तोक्न मार्गै आन्दोलित

नवलपुरको हुप्सेकोट गाउँपालिकामा काँक्रा खेती गर्दै आएका किसान न्यूनतम समर्थन मूल्य तोक्न माग गर्दै आन्दोलित भएका छन् ।

हुप्सेकोट– १ मा काँक्रा खेती गर्दै आएका किसानले बिचौलियाले आफूहरूलाई भाउ नदिएको भन्दै आन्दोलित भएका हुन् । कात्तिक २२ गते उनीहरूले हुप्सेकोट १ जुकेपानीमा विरोध जनाउँदै हरेक तीन–तीन दिनमा काँक्राको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने माग समेत गरेका छन् । बिचौलियाका कारण आफूहरू मारमा परेको किसानहरूको गुनासो छ । बिचौलियाले आफूहरूलाई भाउ नै नदिई काँक्रा लगेर कालिमाटीमा महँगो मूल्यमा बेच्ने गरेको आरोप समेत किसानहरूले लगाएका छन् ।

दिनरात  दुःखले खेती  लगाउने किसान  तर  किसानले काँक्राको मूल्य आफैँ निर्धारण गर्न नपाउने , बिचौलियाले  खर्च समेत नउठ्ने मूल्य दिदा आफूहरू धेरै नै मारमा परेको भरत राना मगरले बताउनुभयो ।  उहाँले किसानले खर्च उठाउनका लागि २० देखि ३० रुपियाँ मूल्य पाउनुपर्ने समेत बताउनुभयो ।  कात्तिक १२ गते प्रतिकिलो ४२ रुपियाँमा बेचेको काँक्रको मूल्य दिनदिनै घटेर अहिले १० रुपियाँमा झरेको उहाँले बताउनुभयो ।

यसैगरी अर्का किसान टेक बहादुर फाल मगरले ,  पनि  बिचौलियाले अहिले दिएको मूल्यले लगानी पनि नउठ्ने बताउनुभयो । बिचौलियाले किसानलाई सुरुमै निश्चित मूल्य नदिने गरेको उहाँले बताउनुभयो । बारीबाटै  काँक्रा सोझै उठाएर कालीमाटीमा लगेर महङ्गो मूल्यमा बेच्ने तर किसानलाई आधा मूल्य पनि नदिने गरेको  उहाँको  गुनासो छ । ‘कालीमाटीमा  दैनिक रुपमा तरकारीको मूल्य तोकेको हुन्छ । ५० रुपियाँ  किलोमा बेचे हामीलाई २० वा २५ रुपियाँ किलोको हिसाबले  पैसा दिन्छन् । ’ मगरले भन्नुभयो ।

किसानलाई कर्मा नपर्ने गरि मूल्य निर्धारण गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफूहरू आन्दोलित हुनु परेको उहाँले बताउनुभयो ।  हरेक तीन–तीन दिनमा काँक्राको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने र न्यूनतम मूल्य नदिने ठेकेदारलाई काँक्रा बिक्री नगर्ने अडान लिएको उहाँको भनाई छ ।

पछिल्लो तीन दिनका लागि प्रतिकिलो २५ रुपियाँ न्यूनतम समर्थन मूल्य कायम गरिनु पर्ने माग गर्दै किसानहरूले वडा अध्यक्ष प्रेम घर्तीलाई ध्यानाकर्षण समेत गराएका छन् ।  यदि ठेकेदारहरूले उक्त मूल्य दिन नमाने  काँक्रा नै नटिप्ने बरु बारीमै कुहिएर जान दिने निर्णय गरेको किसान वीरसिंह गाह मगरले जानकारी दिनुभयो ।

हुप्सेकोट – १ मा मात्र झण्डै १ हजार कृषकले ९० बिगाहा क्षेत्रफलमा काँक्रा खेती गर्दै आएका छन् । यहाँबाट दैनिक ५० हजार किलो काँक्रा कालीमाटी बजारमा जाने गरेको  मगरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष प्रेम घर्तीले  किसानको मागलाई आफूले गम्भिर रुपमा लिएको बताउनुभयो । किसानका समस्यालाई गाउँपालिकामा समेत राखेको र दुवै पक्षलाई छलफल गराई समस्या समाधानका लागि पहल गरिने बताउनुभएको छ ।

IMG_20231108_111257

अन्य

भिडियो