म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
२०७७ असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसीयु) जनशक्तिको अभावले गर्दा सञ्चालन हुन सकेको छैन । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाको एकमात्रै ५० शैय्याको बेनी अस्पतालमा दुई ओटा भेन्टिलेटरसहित पाँच शैय्याको आइसीयु कक्ष स्थापना गरिएकोमा आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
आइसीयु कक्ष स्थापना गरिएको भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालकी निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा.अञ्जु थापाले बताउनुभयो । अस्पतालको आफ्नै भवन नहुनु, मापदण्ड पुग्ने कोठा नहुनुका साथै जनशक्ति अभाव पनि आइसीयु सञ्चालनमा नआउनुको कारण हो । डा.थापाले भन्नुभयो–‘कोभिडको बेलामा राखेको मैले सुनेको हो तर अहिले त्यसलाई प्रयोग गर्न सकिएको छैन, एउटा बेड मेडिकल वार्डमा ल्याएर प्रयोग गरेका छौं अरु त्यत्तिकै थन्केको छ ।’
अघिल्लो व्यवस्थापन समितिको समयमा सामाग्री आएको हो तर सञ्चालन भएको मलाई याद छैन अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भन्नुभयो । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्ष बनाउने प्रदेश सरकारको निर्णय बमोजिम म्याग्दीमा २०७७ असारमा दुई भेन्टिलेटर र पाँच शैय्याको आइसीयु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो ।
तत्कालिन अवस्थामा गण्डकी प्रदेश सरकारमार्फत १ करोड ७८ लाख रुपियाँ बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत १ करोड २५ लाख रुपियाँमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
आइसीयु कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर सहित कम्तिमा ६ जना नियमित रुपमा आवश्यक पर्ने हुनाले पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या हुने अध्यक्ष सुवेदीको भनाई छ ।
बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिम भेक तथा मुस्ताङ एवम् पर्वतको जलजला गाउँपालिकाका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा आइसीयु सञ्चालन हुन नसक्दा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।


