चक्रघटा गाउँपालिका–८ औरहीकी २७ वर्षीया मोमिता देवी साहलाई २९ वर्षीय पति संजय कुमार साह र ५३ वर्षीया सासू मनतोरीया देवी साहले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० कात्तिक १९ गते उजुरी दिनु भएकाे छ ।
दाइजोमा पीडितका बुबाले मोटरसाईकल नदिएको भन्दै आरोपितले कात्तिक ७ गते पीडितलाई गालीगलोज गर्नुका साथै कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितका ४८ वर्षीय बुबा सिकारी साहको आरोप रहेको छ ।
पीडितको उपचार कात्तिक ९ गतेदेखि ११ गतेसम्म जिल्ला अस्पताल मलंगवामा गरी थप उपचारकाे लागि विरगंजको नेशनल हस्पिटल लगिएकाे पीडितका बुबाले बताउनु भयाे । साथै उपचार पछि पीडित माइती घर सर्लाही जिल्ला बरबरीया गाउँपालिका–१ मानपुर बस्दै आइरहेको उहाँले बताउनु भयो ।
पीडित र आरोपित साहबीच ०७७ जेठ १९ गते विवाह भएको थियो । विवाहमा नगद तीन लाख रुपियाँ, फर्निचर दिएपनि मोटरसाईकल नदिएकाेले आरोपितहरूले पीडितलाई कुटपिट गर्ने गरेको पीडितका बुबाको आरोप रहेको छ ।
उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।