जाजरकोट बारेकोट गाउँपालिका–१ कि ४२ वर्षीया दुर्गा थापाको शुक्रबार मध्यराति आएको भुकम्पबाट घर भत्किँदा घाइते हुनुभयो । उहाँसँगै घरमा बसेका चार सन्तान मध्ये कान्छी छोरीलाई चोट लागेको छ । दुर्गा र उहाँकी ४ वर्षीया छोरी सेविका थापा अहिले प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । एक छोरा र चार छोरीकी आमा दुर्गाले आफुलाई लागेको चोटभन्दा बढी सैयामा छट्पटाइरहेकी चार वर्षीया छोरीको चिन्ता बढी छ, दुर्गालाई । उहाँका पति पनि तिहारमा भारतको हिमाञ्चल प्रदेशबाट आउने तयारीमा हुनुहुन्छ । रोजगारीका लागि साउनमा लदाक पसेका उहाँकाे पति घर नपुग्दै भुकम्पले घर तहसनहस भएको खबर सुन्नुपर्यो ।
दुर्गाको ढाड र टाउकोमा चोट लागेको छ भने उहाँकी चार वर्षीया छोरी सेविकाको खुट्टा र छातिमा चोट लागेको छ । प्रदेश अस्पतालको आकस्मिक कक्षको एक बेडमा दुर्गा हुनुहुन्छ भने अर्को बेडमा छोरी सेविका । दुर्गाले आफ्नो छोरीलाई बचाइदिन डाक्टरहरुलाई अनुरोध हात जोड्दै हारगुहार गर्दै भन्नुहुन्छ, ‘अरु छोराछोरी त ठुला भइसके । गरेर खाइहाल्छन् । यो स्यानीलाई उपचार गरेर सन्चो बनाईदिनुस्, म मरेपनि यसलाई बचाईदिनुस् डाक्टर साहेव ।’
त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ८ की दुर्गा घर्तीकी १७ वर्षीय छोरी मनिसा घर्ती साेही राति गाउँ नजिकैको मेला हेर्न जानुभएको थियो । बाटोमा गाउँका एक जना दाईसँग मोटरसाइकलमा फर्कदै गर्दा ढुंगा लागेर सशक्त घाइते हुनुभयो । दुर्गाका दुई छोरा मध्ये कान्छी र एक्ली छोरी हुनुहुन्छ मनिसा । उनले यो वर्ष मात्रै एसईई पास गर्नुभएको थियो । वैशाखमा मात्रै मनिसाले सल्यानका एक जना केटासँग भागेर विवाह गर्नुभएको थियो । घरकाले नपढाउने भनेपछि माइत बसेर पढ्ने योजनासहित तिहारमा आउनुभएकीे मनिसा शुक्रबारको भुकम्पमा परेर घाइते भएपछि उपचारका लागि उनलाई प्रदेश अस्पताल ल्याइएको हो । आफ्नी एक मात्र छोरीलाई सञ्चो बनाएर घर फर्काइदिन दुर्गाले डाक्टरहरुलाई हार गुहार गर्नुभयो । ‘हामी त घरमा थियौं । भुकम्प आएपछि बाहिर निस्किएर बाँच्न सफल भयौं । तर, छोरी रमिता हेरेर बाइकमा फर्किदै गर्दा ढुंगा लागेर घाइते भइन्,’दुर्गाले भन्नुभयो, ‘मेरो मुटुको टुक्रालाई बचाइदेऊ डाक्टर ।’
‘बुहारी भित्र्याउन पाइनँ’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ की ४० वर्षीया कमला परियारका छोराले नेपालगञ्जबाट विवाह गरेर गाउँ ल्याउँदै हुनुहुन्थ्यो ।’ राति १० बजेसम्म पनि नआएपछि पछि जतिबेला पुग्छन्, त्यतिबेला नै बुहारीलाई भित्र्याउने योजना बनाएर सुत्नुभएकी कमलालाई राति ११ः४७ मा आएको भुकम्पले घाइते बनायो । तीन छोराछोरी र आफु घरमा सुतेकी उनी मस्त निन्द्रामा हुनुहुन्थ्यो । एक्कासी घर भत्किएपछि उहाँका पति र दुई छोरालाई कम चोट लागेपनि उनी बेहोस हुनेगरी घाइते हुनुभयो । उहाँको यौनाङ्ग र छातिमा चोट लागेको छ ।
‘पति अपाङ्गता छन् । एक छोरा बुहारी भारतमा छन् । साइँलो छोराले नेपालगञ्जबाट भगाएर केटी ल्याउँदै थियो । तर, घर पुगेको थिएन,’ कमलाले भन्नुभयो, ‘पुगेपछि घर भित्र्याउँला भनेर दुई बुढाबुढी भान्से कोठामा सुतेका थियौं । एक्कासी राति आएको भुकम्पले मलाई घाइते बनाएछ । यहाँ आएपछि मात्रै मेरो होस् खुल्यो ।’
ड्युटीकै अवस्थामा घाइते भए नगर प्रहरी
चौरजहारी नगरपालिका–१ का २३ वर्षीय निरज विष्ट नगरपालिका अन्तर्गतको नगर प्रहरीका सिपाही हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोरका कारण कालापहाड जाने उनी दुई वर्षदेखि नगर प्रहरीका रुपमा कार्यरत हुनुहुन्थ्यो । ड्युटी गरिरहेको बेला घर भत्किएपछि टाउकोमा चोट लागेर उनी गम्भीर घाइते हुनुभएको छ । उहाँको पनि प्रदेश अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।
निरजको घरमा सात महिनाकी गर्भवती श्रीमति र तीन वर्षीया छोरी छन् । उहाँको अवस्थामा सुधार नआएपछि बाहिर लिन सक्ने स्थिति नभएको निरजका ससुरा देवबहादुर वलीले बताउनुभयो । ‘पहिला उहाँ कालापहाड जानुहुन्थ्यो । दुई वर्ष जति भयो नगर प्रहरीमा काम गर्न थालेको । त्यहि पनि यो विपत्तिले यस्तो अवस्थामा ल्याइदियो,’देवबहादुरले भन्नुभयोे, ‘केही सुधार भएको छैन । बाहिर लिन सक्ने पनि आफ्नो स्थिति छैन ।’
रगत अभाव हुन नदिन रक्तदान
भूकम्पका कारण घाइते भएकाहरुलाई उपचार गर्दा रगतको अभाव नहोस् भनेर विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले सामुहिकरुपमा रक्तदान अभियान चलाएका छन् । अहिलेसम्म १०० जनाले रक्तदान गरिएको रक्तदानका अभियन्ता प्रवाशकुमार शाक्यले जानकारी दिनुभयो ।
जाजरकोट भूकम्पका कारण घाइतेहरुकाे बिहानैदेखि एम्बुलेन्स र नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ३८ पुगेको छ । तीमध्ये जाजरकोटमा एक सय जना र रुकुम पश्चिममा ३८ जना रहेका छन् । घाइतेको सङ्ख्या १ सय ६६ रहेको छ । गम्भीर घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
प्रदेश प्रहरी कार्याल सुर्खेतका एसपी गोपालचन्द्र भट्टराईका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि मेडिकल टिमसहित ८ सय ५९ जना प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहत तथा उद्धार कार्यका लागि सहयोगको आव्हान गरेको छ । शनिबार बिहान मुख्यमन्त्री निवासमा आकस्मिक बैठकले बजेट अभाव हुन नदिन बजेट शीर्षक परिवर्तन गरी शोधभर्ना गर्ने, राहत तथा उद्धार कार्यलाई तिव्रता दिन विभिन्न निकायसंग अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताउनुभयो ।


