मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाएर भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाएर बेचबिखन गरेको आरोपमा प्रहरीले ०८० कात्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान २६ वर्षीय जीवराज तामाङलाई गिरफ्तार गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीद्र रेग्मीका अनुसार आरोपित तामाङको मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाएर भिजिट भिसामा नेपाली नागरिकलाई विदेश पठाउने कार्यमा संलग्नता रहेको पाइएपछि तामाङलाई गिरफ्तार गरिएको हो ।
गिरफ्तारीमा परेका तामाङ बिगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको एसपी रेग्मीले इन्सेकलाई जानकारी दिनुभयो ।
एसपी रेग्मीका अनुसार गिरफ्तारीमा परेका आरोपितलाई कात्तिक १३ गते काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।