अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा दुईसातादेखि औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।
स्थानीय विरमान बुढाले टाउको र ज्वरो आएर स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले औषधि छैन भनेर घर पठाएको गुनासो गर्नुभएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी भए पनि औषधि नभए स्वास्थ्य संस्थाको के काम ? बुढाले बताउनु भयो ।
उहाँले सामान्य सिटामोल समेत नभएपछि रित्तो हातमा घर फर्कन बाध्य भएको बताउनुभयो । गाउँगाउँमा बिरामीहरूको सख्या बढ्दै गए पनि स्वास्थ्य संस्थमा सामान्य औषधिको समेत अभाव भएपछि सेवाग्राही रित्तो हातमा घर फर्कन बाध्य भएका हुन् ।
उक्त स्वास्थ्य चौकीमा गएका अधिकांस बिरामीहरूले कुनै पनि औषधि नपाएको अर्का स्थानीय सेवाग्राही प्रकृति तामाङले गुनासो गर्नु भएको छ । उहाँले आफ्नो हातको पाखुरामा चोट लागेकोले औषधि माग्नका लागि स्वास्थ्यचौकीमा जाँदा घाउमा लगाउने सामान्य टिन्चर वा बेटाटिन समेत नपाएर फर्केको गुनासो गर्नुभयो ।
उक्त विषयमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक हंस महतारालाई बुझ्दा उहाँले दसैँ अघि नै आवश्यक औषधि आइसक्नु पर्ने हो तर आएन अव छिटै पुग्छ भन्नुभयो । त्यस्तै गरी गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले छिटै औषधि उपलब्ध गराउने प्रतिक्रिया दिनु भएको छ ।