INSEC Online

📅 २०८३ जेष्ठ २२

बृद्ध बुबाको हत्या घटनाका आरोपित छोरा गिरफ्तार

हरिवन नगरपालिका–५ डाबरीका ८१ वर्षीय बुबा ओम प्रसाद मैनालीलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा उनका ४२ वर्षीय छोरा गोकर्ण मैनालीलाई ०८० कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनकाले गिरफ्तार गरेको छ ।

घरायसी विवादको क्रममा कात्तिक ८ गते बुबा छोरबीच झगडा हुँदा बुबालाई कोदालो प्रहार गरी छोराले हत्या गरेको आरोप रहेको छ । पीडितलाई कात्तिक ९ गते बिहान उपचारका लागि नमुना अस्पताल हरिवनमा भर्ना गरिएको थियो । तर, उपचारमा सुधार नदेखिएकोले थप उपचारका लागि मेडिकल कलेज चितवनमा रेफर गरिएको थियो । पीडितको उपचारकै क्रममा कात्तिक ९ गते राती ११ बजे अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिल गिरीले जानकारी दिनु भयो ।

बुबाको हत्या घटनाका आरोपित छोरालाई कात्तिक १० गते हरिवन नगरपालिका–४ तीनविघे मैदानकाे लच्का क्षेत्रमा हिड्डुल गरिरहेको अवस्थामा गिरफ्तार गरेकाे इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर गिरीले जानकारी दिनु भयो । घटना बारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।

अन्य

भिडियो