काम अनुसारको ज्याला नपाउँदा आरन चलाएर जीविका चलाउँदै आएका चौतारा सागाचोकगढी नगरपालिका-५ का टंकबहादुर विश्वकर्मा परिवारको जिवनयापनमा समस्या भएको छ ।
आरनमा फलामको काम गर्दै आएका टंकबहादुरको पति पत्नी भएर दिनभर पसिना बगाएर हतियार साध लगाउने देखि विष्टहरूको फलामका सबै काम गर्छन तर श्रम अनुसारको ज्याला नपाउँदा समस्या भएको टंकबहादुर बताउनु हुन्छ ।
‘पुर्खाले गर्दै आएको काम भएकोले त्यही काममा लागियो, अरु वस्तु भाउको मूल्य जसरी वृद्धि भएको छ यो पेशामा भने विष्टहरूको दयाले दिएको अन्नपात र पैसामा चित्त बुझाउनु पर्छ’, उहाँले भन्नुभयो । अहिलेको आकासिएको महङ्गीले जीवन धान्न धौ धौ परेको आरनमा पतिलाई सहयोग गर्दै आउनुभएकी गमली विश्वकर्मा बताउनु हुन्छ ।
‘अरु पेशामा मूल्य छ, तर आरनमा काम गर्नेहरूको कुनै मूल्य पनि छैन । पुस्तौँ पुस्ता देखि विष्टहरूको दयाले दिएको पैसा हात थापेर काम गरेका थियौँ । अहिले दयाको भरमा जीवन नचल्ने नै भयो’, आरनमा फलाम बनाउँदै आएका टंकबहादुरले बताउनु भयो ।
टंकबहादुर विश्वकर्माको पति पत्नी भएर आरनमा खुकुरी, हसिया, कोदालो लगाएतका हतियारहरू साध लागाउने, बनाउने लगायतका काम गर्दै जसोतसो दुःखले जीवन गुजारा गर्दै आउनुभएको छ । तर अब सो पेशाले आफ्नो परिवार पाल्न नसक्ने भएको उहाँको गुनासो छ ।
