नेपालको संविधानमा मौलिक हक अन्तर्गत शिक्षाको अधिकारमा आधारभुत तहसम्म निःशुल्क शिक्षा भनिए पनि कपिलवस्तुका अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभावका कारण विद्यार्थीहरू शुल्क तिरेर पढ्न बाध्य रहेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका १ सय ८७ विद्यालयहरूमा शिक्षक दरबन्दी नै छैन । कार्यलयका अनुसार जिल्लामा १ सय ४ प्रावि, ६५ निमावि, १३ मावि र ५ उच्च माविमा शिक्षकको एउटा पनि दरबन्दी नभई सञ्चालनमा रहेका छन् ।
शिक्षक दरबन्दी नहुँदा ति विद्यालयहरूले निजी शिक्षक राख्नु पर्ने भएपछि विद्यार्थीबाट नियमित शुल्क उठाउने गरेको पाइएको हो । बुद्धभूमि नपा अन्तर्गतका भृकुटी मावि, इमिलिया मावि, नेपाल राष्ट्रिय निमावि मोर्मालगायतका विद्यालयले विद्यार्थीबाट मासिक शुल्क लिने गरेको पाइएको हो ।
सरकारले स्वीकृति दिएको भएपनि दरबन्दीको व्यवस्था नगर्दा विद्यालयले विद्यार्थीका अभिभावकसँग शुल्क उठाएर विद्यालय सञ्चालन गरेका ति विद्यालयका सञ्चालकहरू बताउँछन् । आधारभुत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा भन्ने सरकारको नारा रहेपनि कक्षा १ देखिनै ति विद्यालयले शुल्क लिनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
महाराजगन्ज नपास्थित महाराजगञ्ज दुर्गा भवानी निमाविले ८ कक्षासम्म कक्षा सञ्चालनको स्वीकृत लिई विद्यालय सञ्चालन गरेको भएपनि सरकारले सो विद्यालयलाई शिक्षकको एउटा पनि दरबन्दी दिएको छैन । ४ सय ५० जना विद्यार्थी रहेको सो विद्यालयले निजी स्रोतबाट राखिएका ८ जना शिक्षकको तलबका लागि बाध्य भएर विद्यार्थीबाट शुल्क उठाउनु परेको प्रअ चन्द्रकला चौधरीको भनाइ छ ।
सरकारले तराई क्षेत्रमा ५० जना विद्यार्थी बराबर १ जना शिक्षक राख्ने भन्ने व्यवस्था भएपनि सो नीति कपिलवस्तु जिल्लामा लागु हुन सकेको छैन । यसबारे जिल्ला शिक्षा कार्यालयले समेत बेवास्ता गरेको अभिभावकहरूको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले शिक्षक दरबन्दी मिलान गर्ने कार्य लामो समयदेखि गर्न नसक्दा विद्यार्थी धेरै भएका विद्यालयमा शिक्षक छैनन् भने कतिपय विद्यालयमा विद्यार्थी कम छन् तर शिक्षक दरबन्दी धेरै रहेको पाइएको छ ।
जिल्लामा अहिले प्राविमा ६५ विद्यार्थी बराबर एक शिक्षक, निमाविमा ६० र माविमा ५५ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
जिल्ला शिक्षा कार्यलयले दिएको जानकारी अनुसार जिल्लामा हाल १ हजार ९ सय ८६ शिक्षक तथा १ लाख ३१ हजार ७० विद्यार्थी रहेका छन् । शिक्षक र विद्यार्थीको सङ्ख्या हेर्दा एक जना शिक्षक बराबर ६५ जना विद्यार्थी हुन आउँछ ।
जिल्लामा ५ सय २८ बालविकास केन्द्र, २ सय ८० प्रावि, ८२ निमावि, ६९ मावि र ९ उच्च मावि रहेकोमा ४ सय ३१ सामुदायिक, १ सय ४३ संस्थागत र ७५ धार्मिक विद्यालय रहेका छन् ।