INSEC Online

📅 २०८३ जेष्ठ २२

एक महिनादेखि चौगानफयाका नागरिक खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित चौगानफयाका स्थानीय नागरिकहरु एक महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् ।

१६ वर्षदेखि नियमित रुपमा सन्चालन हुँदै आएको उक्त खाने पानी ०७९ चैतमा सिमकोट गाउँपालिकाको सुसा कार्यक्रम अन्र्तगत खानेपानीको योजना परेपछि झन खानेपानी लथालिङ्ग भएको चौगानफयाका स्थानीय कलमबहादुर शाहीले गुनासो गर्नुभएको छ ।

सुसाले ४० घरधुरीका लागि खानेपानी उपलब्ध गराउँने भन्दै योजना दिए पनि असोज पहिलो हप्तादेखि खानेपानीको हाहाकार भएको स्थानीय शाहीले गुनासो गर्नुभयो ।

गाउँमा एक घर एक धाराको नीति अनुसार खानेपानीको व्यवस्था गर्ने भने पनि झन ठूलो समस्या बल्झिएको अर्का स्थानीय कलबहादुर शाहीले गुनासो गर्नु भएको छ ।

उहाँका अनुसार विगत लामो समयदेखि लेकधिंगा नजिक रहेको सल्यारी चौरबाट ल्याएको खानेपानीको काकचुका भन्ने स्थानमा रिर्जभ ट्याङकी राखिएको थियो । सो संस्थाले उक्त क्षेत्र भन्दा माथि निर्माण कार्य नगरी पहिलेकै पानीलाई रिर्जभ ट्याङकीबाट प्रत्येक घरदुरीलाई एक घर एक धाराको अवधारणा ल्याएपछि स्थानीय नागरिकले खानेपानीको संकट खेप्नु परेको स्थानीय शाहीको भनाइ छ ।

हाल प्रत्येक घरमा एउटा एउटा धारा निर्माण गरिए पनि पानी विनाको धारा बनेका छन् । यतिखेर सो धाराहरूमा नत पानी झर्यो नत पुरानो धारामा पानी नियमित भयो स्थानीय शाहीले गुनासो गर्नुभयो ।

उक्त धाराहरूमा पानी नआएपछि ४५ मिनेट लगाएर पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । पुरानो धाराको ठाँउमा नयाँ धारा निर्माण गर्दा सो क्षेत्रका स्थानीय खानेपानीबाट वञ्चित हुँदै आएका छन् ।

सो विषयमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई बुझ्दा गाउँका स्थानीयलाई खानेपानी निर्माण गरी प्रत्येक घरमा एउटा एउटा धारो बनाउने नीति अनुसार खानेपानीको योजना पारेको उहाँले बताउनुभयो । धारामा पानी नझर्ने कुरा त उपभोक्ता समितिले गरेको कामका आधारमा यो समस्या हुन सक्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो