
गरुडा नगरपालिका–८ बसविटी जिंगडीया टोल का विजय महराका परिवारलाई ०८० कात्तिक ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा राखी कुटपिट गरी यातना दिएको कारण मृत्यु भएका मृतक महरा परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरुको उपस्थितिमा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मृतक विजयका बुबा पनिलाल महरालाई ८ हजार रुपियाँको चेक हस्तान्तरण गर्नु भएको हो ।
मृतक महराको चार जना छोराछोरीहरु छन् । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले न्यायीक प्रक्रियामा जान तथा छोराछोरीहरुको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
गरुडा नगरपालिका–८ बसविटी जिंगडीया टोल का २० वर्षीय निरन्जन रामको ०७७ साउन ३१ गते हत्या गरिएको घटनाको आरोपमा इलाका प्रहरी कार्यालय गरुडा प्रहरी टोलीले सोही ठाउँका विजय महरालाई ०७७ साउन ३२ गते गिरफ्तार गरेकोमा उपचारका लागि भन्दै भदौ ४ गते पर्सा जिल्लाको वीरगंजस्थित नेशनल मेडिकल कलेज लगेकोमा उपचारको क्रममा ०७७ भदौ १० गते राती निज विजय महराको मृत्यु भएको थियो ।
विजय महरालाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखी कुटपिट गरी यातना दिएको कारण मृत्यु भएको पीडित परिवार आरोप लगाएपछि इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले ०७७ भदौ १२ गते घटनाको स्थलगत अध्ययन गरेको थियो ।
प्रहरी यातनाकै कारण छोराको ज्यान गएको भन्दै विजयको बुबा पनिलाल महराले ०७७ भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी रविराज खड्का, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तथा डिएसपी ज्ञानकुमार महतो, इन्स्पेक्टर नविन सिंह, सई विरेन्द्र यादव, हबल्दार फिरोज मियाँ धुनीया र मन्नुकुमार सिंहसहित ६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले महराको उजुरी नलिएपछि ०७७ भदौ २१ गते सो उजुरी सरकारी वकिल कार्यालयमार्फत दर्ता गरिएको थियो ।
आरोपितहरु मध्ये इन्स्पेक्टर नविन सिंह, प्रहरी हबल्दार फिरोज मियाँ र मुन्नाकुमार सिंहलाई ०७७ असोज ६ गते जिल्ला अदालत, रौतहटबाट पक्राउ पुर्जी जारी गरेपनि हालसम्म पक्राउ गरिएको छैन ।