INSEC Online

📅 २०८३ जेष्ठ २१

अलपत्र सडकका कारण विद्यालय जोखिममा, विद्यार्थीहरू त्रासकाबिच पठन पाठन गर्न बाध्य

सडक बिस्तारको काम अलपत्र हुँदा इस्मा गाउँपालिका–१ स्थित हिमालय मावि जोखिममा परेको छ ।  विद्यालय नजिकको जमिन खस्दै गए पनि विद्यार्थीहरू जोखिमयुक्त भवनमा पठान पाठन गर्न बाध्य छन् ।

निर्माण व्यावसायीले समयमै निर्माणको काम नगरेपछि  विद्यालय नजिकको भाग खस्न थालेको छ । जसका कारण विद्यार्थीहरू समेत त्रासकाबिच पढ्न बाध्य भएको विद्यालयका शिक्षक मनबहादुर खत्रीले बताउनु भयो ।

विद्यालय नजिकैबाट रातचौर–ताल्तुङ्ग–उजुङ्गधारा–हर्पुकोट–नयाँपोखरा मैदान सडक निर्माण भइरहेको छ । तर, सडक बिस्तारको क्रममा लगाउन पर्ने पर्खाल समयमै निर्माण नभएका कारण पहिरोको जोखिम बढिरहेको शिक्षक खत्रीले बताउनु भयो ।

खत्रीले गाउँपालिका, निर्माण व्यावसायी र पुर्वाधार विकास कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाइ नभएको बताउनु भयो । सडकका कारण विद्यालय भवन जोखिमसँगै निर्माण सामग्रीको समेत उचित व्यावस्थापन नहुँदा विद्यार्थीहरूलाई पीटि र प्रार्थना समेत गराउन नसकिएको शिक्षक खत्रीले जानकारी दिनु भयो ।

रौताहा हरि–हरि जेबिले १३ किलोमिटर सडकको स्तरउन्नतीको लागि १३ करोड रूपियाँ २०४१ मा निर्माण सम्झौता गरेको थियो । निर्माण व्यावसायीले सम्झौता अनुसार नियमित काम नगर्ने र योजना कार्यान्वयन निकायको बेवास्थाका कारण विद्यालय र विद्यार्थीहरू जोखिम मोलेर अध्ययन गर्न बाध्य छन् ।

केहि खनेर मात्रै छोडिएकाले वर्षातको समयमा आफूहरूले डरत्रासको बिच पढ्दै आएको विद्यार्थी विवेक खत्रीले गुनासो गर्नु भयो । उहाँले  निर्माण व्यवसायीले विद्यालयको खेलकुद मैदानमासमेत ढुंगा स्टोर गरेका कारण खेलकुद र पीटी प्रार्थनाको काम समेत अवरुद्ध भएको बताउनु भयो ।खेल मैदानमा पनि जोखिमनै जोखिम छ,’खत्रीले भने,‘विद्यालय र विद्यार्थीको सम्वेदनशीलता कसैले बुझेनन् ।’

रातचौर–ताल्तुङ्ग–उजुङ्गधारा–हर्पुकोट–नयाँपोखरा मैदान सडक ०७४ साउनमा सम्झौता भएको थियो । सम्झौता अनुसार ०७६ सालमा सम्पन्न हुनुपर्ने सडक निर्माण व्यावसायीले चार वर्षमा चार पटक म्याद थपेर पनि पुरा गरेका छैनन् ।

सडक पूर्वाधार विकास कार्यालय, गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले विद्यालयको अवस्थाको विषयमा आफू जानकार भएपनि निर्माण व्यावसायीलाई पटक–पटक ताकेता गर्दा पनि काम गराउन नसकिएको स्विकार गर्नुभयो । अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगती भएको चौधरीले बताउनु भयो ।

अन्य

भिडियो