चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, स्वास्थमाथीको हेलचेक्राइलाई नियन्त्रण गर्न मासुपसलको २०८० असोज २९ गते अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश मासु पसलहरु मापदण्ड अनुसार नचलेकाले केही मासुपसललाई सचेत बनाइएको र केहीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, उद्योग वाणिज्य संघ बागलुङ र पर्यटन तथा घरेलु उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्ने क्रममा मासु पसलले उचित सरसफाई नगरेको, मासु भण्डारण उचित तापक्रममा नगरेको र मासुलाई बाहिर राखेर बिक्रि वितरण गरेकोे पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनुभयो ।
“मासु भण्डारण गरेको फ्रिजमा विद्युत नलगाइएको, पसलमा खुल्ला रुपमा मासु राखिएको, भुइमै मासु राखिएको, फोहोरजन्य मासुहरुको उचित व्यवस्थापन नगरिएको पाइएको छ ।” बरालले भन्नुभयो “मासु जस्तो संवेदनशिल खाद्यपदार्थलाई समेत व्यापारको नाममा हेलचेक्राई गरेको पाइयो केही मासु व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण लिएका छौं भने केहीलाई दर्ता गर्नका लागि नगरपालिकामा पठाएका छौं ।”
चाडपर्वको समयमा मासु तथा मासुजन्य पदार्थको उपभोग बढी मात्रामा हुने र मासुबाट रोग सर्ने संभावना पनि बढी भएकाले मासुपसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाई हुनु जरुरी छ । मासुलाई माइनस १० देखि १८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएपनि बागलुङका अधिकांश मासु पसलहरुमा मासु भण्डारणका लागि राखिएको फ्रिजको तापक्रम पुगेको थिएन । मासु पसलका लागि भित्ता, भुई लगायतमा टायल राख्नुपर्ने मापदण्ड भएपनि कतिपय मासु व्यवसायीले नराखेको पाइएको छ । खुल्ला रुपमा मासु बिक्रि गर्न नपाइने र उपभोक्ताले मासु खरिद गर्न आएपछि मात्र फ्रिज बाट मासु बाहिर निकाल्नुपर्ने भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो ।
चाडपर्व नजिकिएसंगै मासुको व्यापार बढी हुने भएकाले मासु पसलहरुको अनुगमनलाई तिब्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका खाद्य प्राविधिक सहन्स कुमार मेहताले बताउनुभयो । मेहताका अनुसार उचित तापक्रम नपुग्दा मासु अस्वस्थकर हुने बताउदै बागलुङका मासु व्यवसायीलाई मासु भण्डारणका लागि प्रयोग गरिएको फ्रिजको विद्युत निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
अनुगमनका क्रममा आधा दर्जन मासु पसलहरु बिना दर्ता सञ्चालनमा आएको पाइएको छ । दर्ता नभएको मासु पसलहरुलाई मापदण्ड पुरा गरी दर्ता गर्न नगरपालिकामा बोलाइएको बागलुङ नगरपालिकाकी सामाजिक विकास शाखा अधिकृत सरस्वती रेग्मीले बताउनुभयो ।

