१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर जब्दी नपा-१० का ३५ वर्षीय मिथिलेश यादवविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले साउन ५ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरी कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मिर्चैया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन ५ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर यमनाथ अधिकारीले आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताए ।
त्यसैगरी ३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-२३ का २० वर्षीय गौरी यादवविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडितले साउन ५ गते उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले साउन १ गते यौन दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन ५ गते भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउने बताए ।