एक वर्षदेखि करार कर्मचारीहरूले तलब नपाएको भन्दै अदानचुली गाउँपालिकाको कार्यालयमा आन्दोलन गरेका छन् ।
गत वर्षको साउन महिनादेखि हालसम्म आफुहरुले तलब नपाएको भन्दै गाउँपालिकाका करार कर्मचारीद्वारा असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत गिमन थापा मगर समक्ष ध्यानार्कषण पत्र बुझाएका हुन् । एक वर्षदेखि गाउँपालिकामा काम गरेर पारिश्रमिक नपाएका दुई सय बढी कर्मचारीले ध्यानाकर्षण पत्र बुझाएको कर्मचारी महेश महताराले बताउनु भएको छ ।
अदानचुली गाउँपालिकाले करार कर्मचारी आवश्यकतासम्बन्धी ०७९ साउन ९ गाते बसेको कार्यालयको सूचना बोर्ड र ०७९ साउन १५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसारका रिक्त दरबन्दीमा आफूहरुलाई ०७९ मङ्सिर ८ गते गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहको लिखित निर्देशन अनुसार गाउँपालिकाको विभिन्न पदमा सोहि मितिमा दोहोरो करारनामा गरी करार कर्मचारीका रुपमा कार्यरत रहेको व्यहोरा पुनः स्मरण गराउँदै ध्यानाकर्षण पत्र बुझाएको महताराले बताउनुभयो ।
नेपाल सरकार वा मातहतका कुनैपनि निकायमा काम गर्ने कर्मचारीलाई उनले प्राप्त गर्ने पारिश्रमिक हरेक महिनामा उपलब्ध गराउने व्यवस्था सरकारको शुशासन ऐन र श्रम ऐन २०७४ को दफा ३५ को उपदफा २ ले पनि स्पष्ट पारेको पत्र मार्फत गाउँपालिकालाई जानकारी गराएको छ । पत्रमा भनिए अनुसार करारका कर्मचारीले नियुक्त भएको आर्थिक वर्ष २०७९/८० समाप्त भएर नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको तीन महिना बित्दा पनि पारिश्रमिक दिने कुरामा कुनै चासो नदेखाएको देख्दा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापित मूल्य मान्यता र प्रचलित नेपालका कानुनको बर्खिलाप गर्ने काम भएको महशुस हामीहरुले गरेको करार कर्मचारीले बताएका छन् ।
करारनामा भएको महिनापछि कर्मचारीले पाउनु पर्ने कानून अनुसारको पारिश्रमिक पटक–पटक मागदावी गर्दा कार्यालय भित्रको आन्तरिक विवादको कारण देखाई एकमुष्ठ भुक्तानी गर्ने गाउँपालिका अध्यक्ष सिंहले आश्वासन दिएको अर्का कर्मचारी विराज सुनारले बताउनुभयो ।
उक्त विषयमा गाउँपालिका अध्यक्ष सिंहलाई बुझ्दा सोही कर्मचारी मध्य नाम नखुलेका दुईजना कर्मचारीले असोज २४ गते गाउँपालिका कार्यालय तोडफोड गर्न खोजेको आरोप लगाउनु भएको छ । अध्यक्ष सिंहले कर्मचारीको तलब अब एकमुष्ठमा आउने भएको प्रतिक्रिया दिनुभएको छ ।