मङ्गला गाउँपालिका–३ बरंजा घाम्ताङका ४६ वर्षीय शेरबहादुर दमैको घर पहिरोले पुरिएपछि आठ जनाको परिवार आमा समूहको भवनमा बसेको छ । असोज १६ गते राती वर्षाका कारण पहिरो खस्दा घर पुरिएर शेरबहादुरको सबै परिवार बिचल्लीमा परेको हो ।

शेरबहादुरका कक्षा ९ मा पढ्ने १४ वर्षीय छोरा बिवेक परीक्षाको तयारी गर्नका लागि घरको दोश्रो तलामा पढ्दै गर्दा रातको झण्डै ९ बजे तिर घर माथिको पाखोबाट पहिरोको ढुङ्गा आएर घर भित्र छिर्न लाग्यो अब भाग्नु पर्छ भन्दै पुस्तक लिएर तल झर्नुभयो । बिवेकको कुरा नपत्याएर घर बाहिर निस्केर टर्च बालेर पाखोतीर हेर्दा पाखै हिँडे जस्तो देखेपछि शेरबहादुरको सपरिवार घर छोडेर भागेर सुरक्षित स्थानमा आश्रय लिएर जोगिएको शेरबहादुरले बताउनुभयो ।

जुन ठाउँमा घर थियो त्यो ठाउँमा घर भन्दा ठूलो ढुङ्गा आएर घरलाई थिचेको छ । शेरबहादुर र मनकुमारीका चार भाई छोरा, दुई बुहारी अनि एउटा नातीले आश्रय लिइ रहेको घरको नामोनिसान छैन । पहिरोबाट जोगिए पनि आफूले शरिरमा लगाएको कपडा बाहेक अरु केही जोगाउन सक्नुभएन । पहिरोपछि गाउँलेहरु उठेर आएर केही भेट्न सकिन्छ कि भनेर खोजेको भएपनि ठूलो ढुङ्गाले अठ्याएको हुनाले केही निकाल्न सकेनौं भन्नुहुन्छ स्थानीय कुमारी छन्त्याल ।

बिवेकले पहिरो आएको भनेपछि आफ्ना पुस्तक लिएर निस्कीएपनि अरु सबैजना केही पनि नबोकि भाग्दै गर्दा घर भन्दा झण्डै २० मिटर टाढा पुग्दा घर माथिको पाखोबाट आएको ठूलो ढुङ्गाले गोठ भत्काउँदै घरमा आएर बजारिदा घरमा भएका सबै सामानहरु त्यही चेपिए मनकुमारीले गहभरी आसुपार्दै भन्नुभयो ।
घरमाथिबाट ढिस्को खसेर गोठ क्षति हुँदा गोठमा भएको एउटा भैसी, एउटा गोरु र एउटा राँगो समेत मरेको उहाँले बताउनुभयो । जेठो छोरो विदेश छ, अरु दुई छोेरा, दुई बुहारी अनि नातीलाई कहाँ ओत लगाउने भन्ने नै समस्या छ शेरबहादुर सुनाउनुहुन्छ । भएको अन्नपात भाँडा कपडा सबै घर सँगै पुरियो अब बस्ने खाने के गर्ने भन्ने नै टुंगो छैन उहाँले भन्नुभयो ।

घर छेउको खोरमा भएका दुई ओटा हाँस र केही बाख्रा जोगिए अरु केही बचेन । पकाउने पस्कने भाँडा तथा थाल कचौरा केही पनि मेरो जोगिएन, आमा समूहको भवनमा आएर बसेको छु–शेरबहादुर सुनाउनुहुन्छ ।
हाल आमा समूहको भवनमा आश्रय लिइ रहेका परिवारलाई अझै पनि कता व्यवस्थापन गर्ने भन्ने बारेमा स्थानीय तहले कुनै निर्णय नगरेको मंगला गाउँपालिका –३ का वडा अध्यक्ष यामबहादुर रोकाको भनाई छ
