INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका फरार आरोपित १० वर्ष पछि गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित गोलबजार नगरपालिका–१ का २९ वर्षीय मनोज ठाकुरलाई इलाका प्रहरी कार्यालय गोलबजारले १० वर्ष पछि २०८० असोज २३ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालत सिरहाका न्यायाधीश विनोद कुमार पोखरेलले ०७१ साल असोज २७ गते आरोपित मनोज ठाकुर लगायत अन्य दुई जनालाई जनही ११ वर्ष कैद र ५० हजार रुपियाँका दरले क्षतीपूर्ती पीडितलाई दिने गरी फैसला गरेको थियो ।

पीडितलाई साविक गाविस मुक्सार–६ हाल गोलबजार नगरपालिका–१ का १८ वर्षीय नजामुदिन अली, १९ वर्षीय मनोज ठाकुर र १९ वर्षीय दाउद अलीले ०७० पुस ६ गते सामूहिक बलात्कार गरेका थिए । बलात्कार पछि स्थानीयहरूले गाउँमै घटना मिलाउन खोजे पनि पीडित परिवारले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ११ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित नजामुदिनलाई पुस ११ गते गिरफ्तार गरेको थियो । तर, अन्य दुई आरोपितहरू फरार रहेका थिए । जिल्ला अदालतले ०७० माघ ९ गते आरोपित नजामुदिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने पुनरावेदन अदालत राजविराजले ०७० साल फागुन २९ गते नजामुदिनलाई तारेखमा राख्ने आदेश दिएको थियो ।

सिराहा जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोद कुमार पोखरेलले ०७१ साल असोज २७ गते घटनामा संलग्न तीनै जना आरोपितहरूलाई दोषी ठहर गर्दै कैद सजाय र जरीवाना गरे पनि आरोपितहरू फरार रहेका थिए । घटनामा संलग्न अन्य दुई आरोपितहरू अझै फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।

अन्य

भिडियो