INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सकमाथि हातपात भएको विरोधमा स्वास्थ्य सेवा ठप्प पार्दै चिकित्सकहरू आन्दोलित

बाँकेका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा ठप्प भएको छ । बरिष्ठ चिकित्सकलाई हातपात र अस्पताल तोडफोड भएको घटनाको विरोध गर्दै चिकित्सकहरूले साउन ३ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका हुन् ।

नेपाल चिकित्सक सङ्घ भेरीका सचिव आरके झाले चिकित्सकलाई हातपातको प्रयास तथा अमानवीय व्यवहार गर्दै अस्पताल तोडफोड गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएपनि कारबाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।

घटनामा संलग्न सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल र कमल शाहीलाई कारबाही गर्न सङ्घले माग गरेको थियो । सङ्घले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको छ ।

असार २८ गते नेपालगञ्जस्थित माँ जानकी अस्पतालका डा. श्यामसुन्दर यादवलाई बिरामीको उपचारमा लापरबाही गरेको आरोपमा बिरामीका आफन्तले हातपातको प्रयास तथा अमानवीय व्यवहार गरेको र अस्पताल तोडफोड गरेको सङ्घका सचिव आरके झाले बताए । सङ्घले अन्य सेवा बन्द भएपनि आपतकालिन सेवा भने सञ्चालन हुने जनाएको छ ।

अन्य

भिडियो