भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा साउन २ गते सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा यही साउन ८ गतेका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो । सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सरेको यो चौथो पटक हो ।
यसअघि गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । त्यसअघि गत असार २३ गते सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो । त्योभन्दा पहिला कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र गत असार १३ गते अदालतमा पेश गरिएको थियो ।
मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान बिकले सर्वोच्च अदालतमा जेठ २१ गते रिट निवेदन दायर गरेका थिए । मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।
पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली काङ्ग्रेस माओवादी गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अगाडि थिए ।