INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पका कारण दर्जन बढि घाइते, सयौँ भौतिक संरचनामा क्षति

बझाङ जिल्लाको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर ०८० असोज १६ गते आएको भूकम्पका कारण बझाङ जिल्ला र बाजुरा जिल्लाका भौतिक संरचनाहरुमा क्षति पुग्नुको साथै दर्जन बढि स्थानीय घाइते भएका इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकरी दिनुभएको छ ।

इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराज सिंहका अनुसार जिल्लाका ६४ घरमा पूर्ण क्षति, २ सय ७७ घरमा आंशिक क्षति र नौ ओटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीको प्ररम्भिक विवरणमा उल्लेख गरिएको छ । भूकम्पका कारण थलारा गाउँपालिकामा सबै भन्दा बढी १ सय २९ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरत शाहका अनुसार भूकम्पका कारण १३ जना घाइते भएका र भूकम्पकै कारण आएको पहिरोमा परी जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमोती धामीको मृत्यु भएको छ । भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण संकलन कार्य जारी रहेको उहाँले बताउनु भयो । भूकम्पका कारण घरमा क्षति पुगेका स्थानीयहरु अहिले खुला आकाशमा बस्न बाध्य भएका छन् ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार भुकम्पका कारण बडिमालिका नगरपालिका–९ का ८ वर्षीय प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउँकोमा लागेर र खप्तड छेडेदह गाउँपालिका–४ का सुन्दर सार्की सदरमुकाम मार्तडीस्थित मालिका माविको सिढीबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । घाइते प्रलोपको टाउँकोमा दुई ओटा टाँका लागेका छन भने अहिले दबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण जिल्लास्थित दर्जन बढी घरहरु भत्किएका छन् । बडिमालिका नगरपालिका–९ का जित चदाराको दुई तले घर र सोही वडाका भुपेस सनाईको घरमा आंशिक रुपमा क्षति भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ का लालबहादुर ओली र दिनेश ओलीको घरको पछागि भाग भत्किएको छ । बुढिगंगा नगरपालिका–६ सायलका भक्त गिरी, वडा नम्बर १ का मनविर रावलको घर, चन्द्र रावलको भैसी बाध्ने छानो,  वडा नम्बर ५ का दल शाह र वडा नम्बर ४ का बल कटुवालको घरमा पनि आंशिक क्षति भएको छ । भूकम्पका कारण बुढिगंगा नगरपालिका–५ मा रहेको टाँटे स्वास्थ्य चौकीको प्रसूती भवनको पानी राख्ने ट्याङ्की भत्किनुको साथै पानी तताउने सोलावर प्यानल पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी कबिन्द्र बोहराले बताउनु भयो । बुढिगंगा नगरपालिका–७ का चक्र केसी, बुढिगंगा नगरपालिका–९ का कोकिला सिंह र पदमबहादुर सिंहको घर पूर्ण रुपमा क्षति भएको र वडा नम्बर ६ का  नविन गिरीको घर चर्केको प्रहरीले जानकारी दिएको छ । भुकम्पले खप्तड छेडेदह गाउँपालिका–३ मा २० बढी घर भत्किएका वडाध्यक्ष बिर्कबहादुर रावतले जानकारी दिनु भयो ।

भूकम्पका कारण जिल्लाका बिभिन्न स्थानीय तहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी बोहराले बताउनु भयो ।

अन्य

भिडियो