हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।
सामाजिक सञ्जाल फेसबुकमा असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गर्दै लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्याली निकालेको थियो । हिन्दू ओमकार समाजको आयोजनामा असोज १६ गते भएको प्रदर्शनमा नेपालगञ्ज उपमहानगर बिपिचोक नजिकै सार्वजनिक सम्पत्ति तोडफोड भएपछि मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरूबिच ढुङ्गा हाना हान भएको थियो ।
स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन असोज १६ गते दिउसो १ बजेदेखि लागु हुने गरी कर्फयु आदेश जारी गरेको छ ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) (क) (३) बमोजिम अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।
उत्पन्न तनावलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू र सिङ्गो बाँकेवासी लाग्नु पर्ने प्रजिअ आचार्यले बताउनु भयो ।