जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ ।
मोटरसाइकल दुर्घटनामा परी ०८० असोज १५ गते उपचारका लागि अस्पताल पुगेका आरोपितले चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारसहित तोडफोडको प्रयास गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भयो ।
मादक पदार्थ सेवन गरी आरोपितले दुर्व्यवहार गरेपछि अस्पतालका कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन् ।
घटनाको विरोधमा असोज १६ गतेदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल मिश्रले बताउनु भयो ।
घटनाको विरोधमा आकस्मिक बाहेकका सेवा बन्द भएपछि स्वास्थ्य सेवाग्राहीलाई उपचार पाउन समस्या भएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ पहिलो संसोधन ऐन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक र स्वास्थ्यकर्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सक र स्वास्थ्यकर्मीलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।
