चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ ।
सात जना महिला राख्ने क्षमता भएको जेलमा १ सय १९ जना राखेपछि त्यहाँका कैदीबन्दीलाई सुत्न र बस्न समस्या परेको हो । चौतारा कारागारमा ८८ जना कैदी र ३१ जना थुनुवा रहेका छन् ।
पुरुष राखिने कारागार ०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त बनाएपछि अर्को बन्दीगृह निर्माण हुन सकेको छैन । महिला राखिने कारागार भए पनि चौतारा कारागारमा भवनको अभाव हुँदा त्यहाँ पुरुषलाई मात्र राखिन्छ । महिला कैदी बन्दीहरूलाई अन्य जिल्लाको विभिन्न कारागारमा पठाइने गरेको जिल्ला कारागार प्रमुख अनिल बुढाथोकीले बताउनु भयो ।

कारागारको भौतिक संरचना समेत जीर्ण अवस्थामा रहेको छ । कच्ची भवनमा कोचाकोच कैदीबन्दी राख्नु पर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखेपछि सुत्नको लागि साँघुरो मात्र होइन हिँडडुल गर्न समेत समस्या भएको कैदी भरत दङ्गोलले इन्सेकलाई जानकारी दिनुभयो ।
साँघुरो जेल भए पनि बन्दीहरूलाई समय बिताउन कारागार भित्र मुढा, गलैँचा, टोपी, नाङ्ग्लो लगायतका वस्तुहरू बनाउने गरेको चौकीदार भिमबहादुर बस्नेतले बताउनु भयो । जेलभित्र हालको अवस्थामा सुरक्षा व्यवस्था राम्रो रहेको कारागार सुरक्षा प्रमुख रामाकान्त यादवले बताउनु भयो ।

इन्सेक बागमती प्रदेशका प्रलेख अधिकृत सोम नेपाली र इन्सेक जिल्ला प्रतिनिधिले असोज १४ गते चौतारा कारागारमा अनुगमन गर्नुभएको थियो ।
