आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले सहयोग गरेको छ । कानुनी प्रकृयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको हो ।
पीडितका पति सोही ठाउँका २९ वर्षीय हस्तबहादुर खत्रीले पटक पटक शारीरिक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ । पीडितलाई पटक पटक ज्यान मार्ने धम्की दिने खान लाउन नदिने, औषधि उपचारमा समेत बेवास्ता गर्ने र आफूसँगै भएकी छोरीको समेत बेवास्ता गर्दै आएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘पतिले सम्वन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दिएका छन् । त्यो मुद्दाको प्रतिउत्तर पत्र लगाउनका लागि सहयोग गर्न आग्रह छ । पीडित महिलाका एक छोरी एक छोरा रहेका छन् ।’
सोही मुद्दाको प्रतिउत्तर पत्र लगाउनका लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा असोज १० गते निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले नगद १० हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।
