कुश्मा बजार स्थित एक होटलमा असोज १२ गते डाबर नेपाल प्रालिले उत्पादन गर्दै आएको रियल ब्रुस्ट जुस प्याकेजिङका क्रममा लापरवाही भएको पाइएको छ । नखोलिएको अवस्थामा भेटिएको जुसको बट्टा काटिएको र पुन गाँसेर कालो टेप लगाइएको अवस्थामा भेटिएको हो ।
होटल सञ्चालकले इन्सेक प्रतिनिधि सन्तोष थापालाई जुसको अवस्थाका बारेमा जानकारी दिएपछि इन्सेक प्रतिनिधिले उपभोक्ताको हित प्रतिकूल हुने गरी उत्पादन गरेर बजारमा पठाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाउनुभएको छ । जुसको प्याकेट खोलेपछि सबै हेर्दा एउटा बट्टा उक्त अवस्थामा फेला परेको थियो । यसरी भेटिएको जुसको बट्टा भित्र करिब ३० प्रतिशत मात्रै पेय पदार्थ रहेको पाइएको छ । जुस सेवनका लागि राखिएको एस्ट्रो समेत जुसकै बट्टामा अन्य सरह राखिएको पाइएको छ ।
उक्त विषयमा उत्पादक कम्पनीका सेल्स म्यानेजर एकराज आचार्यलाई इन्सेक प्रतिनिधिले सम्पर्क गर्दा आचार्यले कम्पनीको तर्फबाट त्यस्तो गल्ती हुन नसक्ने दावी गर्नुभयो । उहाँले जुस प्रत्यक्ष रुपमा कुन अवस्थामा छ भन्ने देखेपछि मात्रै आफुले सबै कुरा भन्न सक्ने बताउनुभयो ।
जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले उपभोक्ताको अधिकार प्रति कसैले पनि खेलवाड गर्न नहुने भन्दै पेयपदार्थको बारेमा यथार्थ विवरण संकलन गरी खाद्य तथा गुण नियन्त्रक कार्यालयको समन्वयमा कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्वतले असोज १२ गते नै खाद्य तथा गुण नियन्त्रक कार्यालय बागलुङका कर्मचारीहरु मार्फत आवश्यक अनुगमन गरी परीक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
