प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले चिकित्सक कुटपिट घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको ०८० असोज १२ गते बसेको बैठकले पछिल्लो समय चिकित्सकमाथि भएका दुर्व्यवहारका घटनाप्रति खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवम् मैत्रीपूर्ण बनाएर सेवा प्रवाहको वातावरण गर्न पनि निर्देशन दिएको हो ।
पछिल्लो समय ०८० भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सक ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि सेवाग्राहीबाट कुटपिट भएको थियो भने ०८० असोज ७ गते लमजुङ जिल्ला अस्पतालका चिकित्सक सन्दीप अधिकारीमाथि लमजुङको बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषि बस्नेतले कुटपिट गरेका थिए । त्यसैगरी मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते अस्पतालमा उपचारका लागि आएकी सेवाग्राही सुकमाया दुराको उपचारमा क्रममा निधन भएपछि उहाँका आफन्तले कुटपिट गरेका थिए । चिकित्सकमाथि निरन्तर भइरहेको आक्रमणका घटनालाई असोज ९ गतेदेखि काठमाडौँ लगायत देशैभरी चिकित्सकहरू कार्यस्थलमा सुरक्षाको माग गर्दै आन्दोलित रहेका छन् ।
समितिको बैठकले वार्तामार्फत चिकित्सकहरू एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै समितिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।
इन्सेकसँग कुरा गर्दै समितिका सभापति भानुभक्त जोशीले चिकित्सकहरूमाथि कार्यस्थलमा निरन्तर आक्रमण भइरहेकाले अस्पतालमा आवश्यक सुरक्षा प्रदान गर्न र चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न निर्देशन दिनुपरेको बताउनु भयो । जोशीले चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा समस्या भएकाले स्वास्थ्य तथा गृह मन्त्रालयले यथाशीघ्र आन्दोलित चिकित्सकसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्ने उल्लेख गर्नुभयो ।