INSEC Online

📅 २०८३ जेष्ठ २१

कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार २९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘शक्ति प्रदर्शनको होडबाजीले हिंसा’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार आयोगद्वारा सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित २०७३ साल चैत्र ३१ गते राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ८ (१) बमोजिम सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री ताहिर अलि अन्सारीको संयोजकत्वमा फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहित आयोगका अधिकृतहरू सम्मिलित एक उच्चस्तरीय अनुसन्धान टोलीको गठन गरेको थियो । सो टोलीले २०७४ जेठ २९ गते अनुसन्धान प्रतिवेदन का.वा. अध्यक्ष माननीय प्रकाश वस्तीलाई बुझाएको र निर्णय पूर्व कानुन बमोजिम पुर्‍याउनु पर्ने प्रक्रिया पूरा गर्ने क्रममा घटनाको उजुरी आयोगमा विचाराधीन अवस्थामै रहेको आयोगले जनाएको छ ।

मानव अधिकार आयोगले साउन १ गते प्रकाशन गरेको विज्ञप्तिमा उक्त प्रतिवेदन हालसम्म आयोगको बैठकमा छलफलका लागि पेश नगरिएको तथा पेश भएपछि छलफल भई निर्णय समेत हुन बाँकी रहेको जनाएको छ । विज्ञप्तिमा आयोगको निर्णय हुनुपूर्व नै आयोगको निर्णय नै भएको जस्तो भ्रम पर्ने गरी प्रकाशित समाचारप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दछ भनिएको छ । मानव अधिकारको अनुसन्धान कार्य गम्भीर विषय हुने र सोको दूरगामी असर समेत पर्ने भएकोले यस्तो प्रकृतिको समाचार प्रकाशन गर्दा आयोगको प्रतिक्रिया लिई जिम्मेवारीपूर्वक प्रकाशन गर्नको लागि समेत आमसञ्चार माध्यमलाई आयोगले आग्रह गरेको छ ।

अन्य

भिडियो