INSEC Online

📅 २०८३ जेष्ठ २१

सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन

पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु पर्ने, रोजगारमा सुरक्षा हुनु पर्ने र स्वास्थ्यकर्मीमाथि कुटपिट हुने घटनामा कडा कानुन बनाउन माग गर्दै माइतीघर – नयाँबानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् ।

Photo_080-6-10_Kathmandu१

लमजुङ अस्पतालमा ०८० असोज ७ गते आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग भनाभन हुँदा अपशब्द बोल्दै बेसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालका मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेका थिए ।

त्यसैगरी असोज ८ गते श्वासप्रश्वास र डाढ दुख्ने समस्या भएर उपचारका लागि मणिपाल ल्याइएकी लमजुङ नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा सोही दिन दिउँसो १ बजे निधन हुँदा अघिल्लो दिनसम्म ठिकठाक भएको बिरामीको अस्पतालको लापरबाहीका कारण एक्कासी ज्यान गएको भन्दै मृतक बिरामीका आफन्तको आक्रोशित भिडले होहल्ला गरेपछि सम्झाउन गएका डाक्टर अनिल शाहलाई मुक्का प्रहर गर्दै कुटपिट गरेका थिए । दुवै घटनालाई लिएर कार्यक्षेत्रमा सुरक्षाको ग्यारेन्टी हुनु पर्ने मागसहित चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

नयाँ बानेश्वरमा प्रदर्शनमा सहभागी त्रिवि शिक्षण अस्पतालका डा. सुमन आचार्यले इन्सेकसँग कुरा गर्दै डाक्टरहरूमाथि भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार घटना बढिरहेकाले सुरक्षाको माग गर्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । आचार्यले चिकित्सकहरूले इमान्दार भएर स्वास्थ्य सेवा प्रदान गरिरहँदा पनि कार्यस्थलमा सुरक्षाको प्रत्याभुत हुन नसकेको उल्लेख गर्नुभयो ।

त्यस्तै आन्दोलनमा सहभागी राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा. सन्दीप ओखेडाले चिकित्सकले गलत उपचार गरी बिरामीको मृत्यु भएको खण्डमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने बाटो हुँदाहुँदै बिरामी र उहाँका आफन्तहरू भौतिक आक्रमणमा उत्रिरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । डाक्टरको सुरक्षाका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नु पर्ने डाक्टर ओखेडाको भनाई थियो ।

Photo_080-6-10_Kathmandu२

अन्य

भिडियो